एजेन्सी । रुसी विश्वकपको सेमिफाईनल भिडन्त अब संघारमा छन् । चार टोली तयारी अवस्थामा छन् । मात्र दुई खेलको नतिजाले विश्व फुटबलको सर्वश्रेष्ठ प्रतियोगिताको उपाधिको छिनोफानो गर्नेछ । त्यसका लागि युरोपका चार राष्ट्र तयार छन् ।
सेमिफाईनल पुग्ने चारै टोलीले (इङ्ल्याण्ड बाहेक) समह विजेताको रुपमा विश्वकपको लामो यात्रा सफर गर्ने संकेत गरेका थिए । सेमिफाईनल खेल्ने तयारी गरेका चारै टोलीले समुह र नकआउट चरणमा आफुलाई अब्बर सावित गर्दै उपाधिको नजिक पुर्राएका छन् ।
उनीहरुको सफलताको पछाडी केही खेलाडीको नायकत्व प्रर्दशनले महत्वपुर्ण भुमिका खेलको छ । र, तीनै खेलाडीको प्रर्दशनमा चारै टोलीको सेमिफाईनल अगाडीको भाग्य निर्धारण हुने पक्का छन् । जसमा विश्वकप जिताउने अभिभारा राष्ट्रले छोडेको छ ।
केलियन एमबाप्पे ( फ्रान्स )
रुसी विश्वकपमा उदाएका युवा स्टार हुन्, केलियन एमबाप्पे । फ्रान्सलाई सेमिफाइनल सम्मको यात्रा तय गराउन महत्वपूर्ण योगदान गरेका एमबाप्पेले विश्वकपमा जबर्जस्त प्रदर्शन गरिरहेका छन् । दुई पटकको विश्व च्याम्पियन लियोनल मेस्सी प्रेरित अर्जेन्टिनालाई नकआउट चरणबाटै घर फर्काउने क्रममा उनले दुई गोल गरे ।
विश्वकपका पाँच खेलमा तीन गोल गरेका एम्बाप्पे आक्रमक फुटबल खेल्न रुचाउछन् । प्रि क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध दुबै गोलमा उनको त्यही आक्रमक शैलीनै प्रष्ट देखिन्छ । उमेरले भर्खरै १९ टेकेका फ्रान्सेली युवा स्ट्राईकर एमबाप्पेले ब्यवसायीक फुटबल भने आफ्नै घरेलु लिगमा खेल्छन् । उनलाई पेरिस सेन्ट जर्मेन पीएसजीले राखेको छ । पाँच फिट दश इन्चका एम्बाप्पेको गति र प्रहार गज्जबको छ । लामा सट प्रहार गर्न, बल नियन्त्रण गर्न र प्राप्त अवसरमा स्कोर गर्न उनी माहिर छन् ।
इडेन हाजार्ड ( बेल्जियम )
बेल्जियमलाई विश्वकपमा दोस्रो पटक सेमिफाइनल पुर्रायाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका इडेन हाजार्ड बेल्जियम फुटबलको स्वर्णिम पुस्ताका कप्तान हुन् ।
रुसी विश्वकपमा गोल बर्षा गर्न नसकेपनि अट्याकिङ मिडफिल्डरको भुमिकामा उनको प्रर्दशन जवर्जस्त छ । पाँच खेलमा दुई गोलको लागि अवसर सिर्जना गरेका उनले बेल्जियमको खेलमा आक्रमण बुन्ने काम गर्छन् । अझ भनौ उनी बेल्जियमको सुन्दर फुटबलको ‘आर्किटेक्चर’नै हुन् ।
प्रिक्वाटरफाईनलमा जापानसंग २–० ले पछाडी परेको स्थिती उल्ट्याउदा होस् वा पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई अन्तिम ८ बाट घर फर्काउदा होस, त्यसको कप्तानी हजार्डले गरे । मिडलाईनमा उनले पस्किएको सुन्दर फुटबल र बुनेको आक्रमणले बेल्जियमले सेमिफाईनल सम्मको यात्रा तय गर्न सफल भएको छ ।
पाँच फिट आठ इन्चका २७ वर्षिय हाजार्ड इङ्लिस क्लब चेल्सीबाट व्यवसायीक फुटबल खेल्छन् । सन् २०१२ देखि लण्डन क्लबमा रहेका हजार्डलाई विश्व क्लब फुटबलका धनी क्लबहरुले आखाँ गाढेर बसेका छन् । दुबै खुट्टाले बल खेलाउन सिपालु हाजार्ड मध्य भागमा बल नियन्त्रण गरि अगाडि बढाउन, लामा पास खेल्न, फ्रिकिक प्रहार गर्न माहिर छन् ।
ह्यारी केन (इङ्ल्याण्ड)
रुसी विश्वकपको गोल्डेन बुटका दाबेदार हुन्, ह्यारी केन । पहिलो पटक विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरिरहेका केन, इङ्ल्याण्ड फुटबल टिमका कप्तान समेत हुन् । भाग्यनै सहि, केनले आफ्नो कप्तानीमा २८ बर्षपछि इङ्लिस टोलीलाई विश्वकपको सेमिफाईनलसम्म डोराउन सफल भएका छन् ।
उनी चार खेलमा एक ह्याट्रिक सहित ६ गोल गरेर गोल्डेन बुटको उपाधि नजिक छन् । ६ फिट २ इन्च अग्ला २४ वर्षिय केन ब्यवसायीक फुटबलमा भने घरेलु लिग क्लब टोटनह्यामकालगि खेल्छन् । सशक्त प्रहार, बल पोजिसलमा अब्बल, लामा सट प्रहार गर्न माहिर र गोलका लागि अवसर सिर्जना गर्न केन अब्बल छन् ।
लुका मोड्रिक ( क्रोएसिया)
क्रोएसियाली फुटबलको सेमिफाइनल सम्मको यात्रालाई हेर्ने हो भने यसको श्रेयको ठुलो अंश कप्तान लुका मोड्रिकलाई जान्छ । क्रोएसियालाई विश्वकपको अन्तिम ४ सम्मको यात्रा तय गराउन मोड्रिकले गज्जवको प्रर्दशन गरे । मिडफिल्डरको भुमिका निर्वाह गर्दै आएका मोड्रिक बल पोजिसन राख्न र गोल गर्न माहिर छन् । रुसी विश्वकपमा दुई गोल गरेका उनले एक गोलको अवसर सिर्जना गरे ।
समूह चरणमा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध उनले गरेको गोल सबैभन्दा दर्शनिय थियो । ३२ वर्षिय मोड्रिकको रुसी विश्वकप सायद अन्तिम पनि हुन सक्छ । ५ फिट ८ इन्चका मोड्रिक बल नियन्त्रण राख्न, लामा सट प्रहार गर्न, चलाखीपुर्ण पास निकाल्न माहिर छन् ।