काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चले गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् ।
वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।
वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
त्यस्तै प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, प्याराग्लाईडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का मनोनयनमा परेका छन् ।
मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
मञ्चले पिपल्स च्वाईस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेका छन् । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाईसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन् ।
यस्तै अवार्ड अन्तर्गत नै पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने कार्यक्रममै घोषणा गरिनेछ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रुपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार, मुख्य सह–प्रायोजक (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ ।
यसैगरी अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ,सुर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग पनि प्रायोजन सम्झौता भईसकेको छ ।