काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टको चार बर्षे कार्यकाल आज (सोमबार) सकिएको छ । राखेपको १७ औ सदस्य सचिवका रुपमा चार बर्ष बिताएका विष्टको कार्यकाल आज सकिएको हो ।
परिषदको अन्तिम दिन सदस्य सचिव विष्टले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । दक्षिण एसियाली खेलकुद सागको तयारी र आठौं राष्ट्रिय खेलकुदको समिक्षा गर्न आयोजित कार्यक्रमलाई विष्टले आफ्नो बिदाईको रुपमा उपयोग गरे ।
‘कुम्लो काम्लो बोकेर हिड्ने अवस्थामा छैन । निश्चित भएर बस्ने अवस्थामा पनि छैन ।’ कार्यकालको अन्तिम दिन सदस्य सचिव विष्टले भने ।
नेपाली खेलकुदको कार्यकारी भुमिकामा चार बर्ष बिताएका विष्ट पुन एक कार्यकाल दोह¥याउन चाहन्छन् । नभए आसन्न साग खेलकुद आफ्नो नेतृत्वमा आयोजना गर्ने विष्टको ईच्छा छ ।
तर उनको भविष्यको बिषयमा सरकारबाट कुनै निर्णय नभएपछि उनीको पहिलो कार्यकाल आजै सकिएको छ ।
तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम न्यौपानेले २०७२ असार ९ गते विष्टलाई सदस्य सचिवमा नियुक्तमा नियुक्त गरेका थिए । उनले असार १० गतेनै कार्यभार सम्हालेका थिए ।
चार बर्षे कार्यकालमा दुई राष्ट्रिय खेलकुद नियमित रुपमा सम्पन्न गरेका उनले नेपाली खेलकुदलाई स्वर्णकाल बनाउने उद्घोष गरेका थिए । तत्कालिन एमालेका खेलकुदका प्रभावशाली नेतालाई पछि पार्दै उनी परिषद्को सदस्य सचिव बन्न सफल भएका थिए ।