काठमाडौं । नेपालमा विविध कार्यक्रमको आयोजना गरेर एक हप्ते अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाईएको छ ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको संयोजनमा नेपालमा १ सय बढी कार्यक्रमको आयोजना गरेर ओलम्पिक दिवस मनाएको हो । ओलम्पिक दिवसको अवसरमा नेपालले १ सय १६ वटा खेलकुद कार्यक्रमहरुको आयोजना गरेको थियो ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८ ) मा मनाउने गरिन्छ । नेपालमा जेठ ३२ गतेबाट ओलम्पिक दिवसको विविध कार्यक्रम गरिएको थियो ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनबाट जेठ ३२ गते साइक्लिङ र्यालीको आयोजना गरेर नेपालमा ओलम्पिक डेको औपचारिक उद्घाटन गरिएको थियो ।
यस अवसरमा नेपालमा ह्यान्डबल, भलिबल, स्क्वास, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स,जुडो, कवड्डी, साम्बो, पेन्टाथलन, ट्राइथलन, पौडी, टेनिस, फुटबल, तेक्वान्दो, भारत्तोलन,, बक्सिङ, फेन्सिङ, बेसबल एन्ड सफ्ट बललगायतका संघहरुले समेत विभिन्न कार्यक्रम गरेका थिए ।
त्यस्तै इपिएस, ब्राइटर स्कुल, सेन्ट सेभियर्स स्कुल,गोदावगरी, ग्रान्ड एकेडेमी, लालिगुँरास, ग्यालेक्सी पब्लिक स्कुल,, एभरेष्ट स्कुलहरुले समेत ओलम्पिक डे को अवसरमा विभिन्नन खेल, क्वीज, वक्तित्वकला र पेन्टिङ्ग प्रतियोगिता आयोजना गरेर मनाएको थियो ।
यसपटक नेपाल पुलिस, आर्मी, शसस्त्र प्रहरी बलले पनि ओलम्पिक डे का अवसर पारी देशको ७ वटै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।
ओलम्पिक दिवसको अन्तिम दिन आइतबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, लगायत मन्त्रालयका कर्मचारीदेखि विभिन्न खेल संघका पदाधिकारी, खेलकर्मी, समाजसेवी, व्यापारी, विद्यार्थी, शिक्षक, खेलाडीको सहभागीतामा बिशेष कार्यक्रम गर्दै मनाईएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ओलम्पिक डे को कार्यक्रम आयोजना गरेको सम्पूर्णलाई कदर पत्र प्रदान गरेका थिए ।
यस्तै अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाकको सन्देश स्पोर्टस फर अल कमिसनका अध्यक्ष श्री विष्णुगोपाल श्रेष्ठज्यूले वाचन गरेर सुनाएका थिए ।