काठमाडौं । नेपाल कुस्ती संघले नयाँ नेतृत्वका लागि हुने संघको साधारण सभालाई स्विकृती प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपले अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले राखेपकै अवरोधका कारण असार ७ गतेका लागि तय भएको साधारण सभा अन्यौलमा परेको जनाएको हो ।
पछिल्लो पटक २०७२ साल जेठको २५ गते निर्वाचन भएको संघको चार बर्षे कार्यकाल ७६ साल जेठ २४ गते सकिएको थियो । सोही अनुसार राखेपसंग पत्राचार गर्दै संघले असार ७ गते नयाँ निर्वाचनको मिति तय गरेको थियो ।
अन्तिम समयमा राखेप सदस्य सचिव केशवकुमार विष्टले साधारण सभाकालागि स्विकृती प्रदान नगरेको भन्दै संघले निर्वाचनमा अवरोध सिर्जना भएको जनाएको छ ।
‘राखेप र संघबीच आपसी सहमती र वार्ताबाट साधारण सभाको नयाँ मिति तय गरेको थियौ । सोही अनुसार राखेपबाट टिप्पणी समेत सदर भएको अवस्था छ । तर अन्तिम समयमा सदस्य सचिवले स्विकृत दिन मान्नु भएको छैन ।’ संघका अध्यक्ष नारायणदेव राणाले भने ।
‘पटक पटक फोन गर्दा समेत फोन नउठाउने, कार्यालयमा भेट गर्न नदिने र म्यासेजको कुनै प्रतिक्रिया नदिने जस्ता काम सदस्य सचिवले गर्नुभएको छ ।’ उनले थपे ।
राणाले चाँडैनै संघको कार्यसमिति बैठकले असार ७ गतेका लागि तय साधारण सभाको बिषयमा थप निर्णय लिने जानकारी दिए ।
राखेपको स्विकृती बिनै साधारण सभा गर्ने वा नगर्ने भन्ने बिषयमा संघले चाडै निर्णय लिने उनले बताए ।
लामो समय यता घरेलु खेलकुदमा दुई कुस्ती संघ अस्तित्वमा रहदै आएका छन् ।
राणा नेतृत्वको संघलाई राखेपको मान्यता छ । नेपाल ओलम्पिक कमिटिमा राजमोहन अन्सारी नेतृत्वको कुस्ती संघ दर्ता छ ।
युवा तथा खेलकुद मन्त्रालयले संघहरुको विवाद समाधान गर्न कार्यदल गठन गरेपनि काम अघि बढ्न सकेको छैन ।
कार्यदलले कँराते, पेन्टाथोलन, जिम्न्यास्टिक संघको विवाद समाधानमा सहजीकरण गरेपनि तेक्वान्दो, कुस्ती लगायतका खेलमा काम अघि बढाउन सकेको छैन ।