काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स जोडिएका छन् ।
असार तेस्रो साता आयोजना हुने अवार्डका लागि घोराही सिमेन्ट प्रालीको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स सह-प्रायोजकको रुपमा जोडिएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहिबार सगरमाथा र टर्किससँग एक बर्षे सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य संघाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाह ट्युन्चर केसिसिसंग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सगरमाथा सिमेन्टले दोस्रो पटक अवार्डससँग सहकार्य गरेको हो । टर्किस भने पहिलो पटक अवार्डसंग जोडिन आईपुगेको हो ।
सम्झौतासंगै सगरमाथाले अवार्डलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । टर्किस एयरलाईन्सले बर्षको उत्कृष्ट पुरुष र महिला विधाका विजेता खेलाडीलाई टर्किस एयरलाईन्सको सेवा भएको कुनैपनि गन्तब्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ ।
यस्तै एयरलाईन्सले मञ्चका सदस्य र मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ ।
स्पोर्ट्स अवार्ड आगामी असार १७ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।