काठमाडौं । सरकारले सात वटा प्रदेशमा कम्तीमा दुई रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ । संसदमा छलफलको क्रममा रहेको नयाँ आर्थिक बर्षको बजेटमा सरकारले समानुपातिक रुपमा सातै वटा प्रदेशमा दुई रंगशाला निर्माणका लागि बजेट छुट्याएको हो ।
प्रदेशबाट कार्यान्वयन हुने बजेट कार्यक्रम अनुसार एक रंगशाला निर्माणका लागि यस बर्ष २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।
प्रदेश नम्बर एकका लागि सरकारले खोटाङको बाक्सिला रंगशाला र भोजपुरको टयाम्के मैयुङ रंगशाला निर्माण बजेट बिनियोजन गरेको छ ।
यस्तै प्रदेश २ को सिरहास्थित लहान रंगशाला र महोत्तरीको बर्दिवास रंगशाला समेत बजेटमा समेटिएको छ ।
प्रदेश ३ बाट काभ्रेपलाञ्चोकको काभ्रे रंगशाला र ललितपुर महानगरपालिकाको जालपा खेल मैदान निर्माणमा सरकारले बजेट विनियोजन गरेको छ ।
प्रदेश ४ बाट पोखराको भण्डारढिक रंगशाला र तनहुँको भिमाद रंगशाला निर्माणमा सरकारले बजेट विनियोजन गरेको छ ।
यस्तै, कर्णाली प्रदेशको दैलेख दुल्लु बालेश्वर रंगशाला र डोप्पाको डोल्पा रंगशाला तथा सुदुरपश्चिम प्रदेशको बझाङको जयपृथ्वी बहादुर सिंह रंगशाला र कैलालीको टिकापुर रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
प्रदेशबाट कार्यान्वयन हुने बजेटमा सबै भन्दा धेरै रंगशाला र खेल मैदान निर्माणका लागि प्रदेश ५ मा बजेट विनियोजन गरिएको छ ।
प्युठानको प्युठान रंगशाला र कपिलवस्तुको मायादेवि रंगशालासंगै गुल्मीको भनभने खेल मैदान, रुपन्देहीको सिद्वेश्वर खेल मैदान र रुपन्देहीको कालिका मानव ज्ञान खेल मैदानका लागि यस बर्ष समान २५/२५ लाखका दरले बजेट विनियोजित छ ।
सरकारले प्रदेशस्तरबाट कार्यान्वयन हुने कार्यक्रमका लागि ३६ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसको अधिकांश बजेट भने राष्ट्रिय युवा परिषद्का लागि छुट्याईएको छ ।