काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) डिस होम मिडिया नेटवर्क लिमिटेडसँगको सम्झौता नवीकरण गरेको छ । मञ्च र डिस होमबीच शुक्रबार नवीकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि मञ्चले डिस होमसँग ११ लाख बराबरको सम्झौता नवीकरण गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिस होमका एमडी सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै डिस होमले अवार्डको लागि ७ लाख नगद र ४ लाख बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ ।
सम्झौतापछि अवार्डको विजेतालाई डिस होमको सेटप बक्स र २ वर्षको रिचार्ज निःशुल्क गरिनेछ । यस्तै मनोनयनमा पर्ने खेलाडीले डिस होमको सेटप बक्स र एक वर्षको रिचार्ज निःशुल्क गरिनेछ ।
त्यस्तै अवार्डको नाम 'बजाज पल्सर स्पोर्ट्स अवार्ड इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस' हुनेछ ।
बजाज पल्सर स्पोर्ट्स अवार्ड आगामी असार १७ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।
यस पटक पिपल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
यस वर्ष एक नयाँ विधा थप गरिएको छ । थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।
मञ्चले पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ खेलाडी मनोनित गरिसकेको छ ।
यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।