काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले एन्फामा आफ्नो औचित्य नदेखेको कारण पदबाट राजीनामा दिएको बताएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको सल्लाहकार समेत रहेका पाण्डेले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
तत्कालिन अध्यक्ष गणेश थापाविरुद्वको आन्दोलनमा शेर्पासंग जाेडिएका पाण्डे ‘चेन्ज एन्फा’ अभियानका अभियान्ता हुन् ।
‘संस्थामा आफ्नो आवश्यकता देखिन । एन्फा जुन दिशामा जान पर्दथ्यो, जे उद्वेश्य लिएर आएको थियौ, त्यो काम भएन ।’ उनले खेलपाटीसंग भने, ‘भोली गलत कामको जिम्मेवार म पनि हुन्छु । सोही कारण पदबाट राजीनामा दिएको छु ।’
उनले बर्तमान फुटबलमा भएको गतिविधि कस्मेटिक भएको भन्दै अहिलेको अवस्थामा फुटबलको गुणात्मक परिर्वन हुन नसक्ने उल्लेख गरे ।
‘हिजो पनि कस्मेटिक काम भएको थियो । फुटबल चलेकै थियो । १५ बर्ष अघि फुटबल सुरु हुदा समेत ग्रासरुट भएको थियो । विभिन्न कार्यक्रम भएका थिए ।’ पाण्डेले भने, ‘तर हामी सुशासनमा चुकेका थियौ । सामुहिक नेतृत्व, पारदर्शीता र सुशासनका लागि हामी जसरी लडेका थियौ । त्यसको कतैपनि एक लक्षण समेत देखिन ।’
‘नबुझेको मान्छेलाई छारो हाल्न ठिक छ । विभिन्न तर्क दिन सकिन्छ । तर गरिएका कुरा अगाडी लैजान प्रणाली एन्फाभित्र छैन । आफ्नो कुनै औचित्य देखिन ।’ उनले भनेका छन् ।
तत्कालिन अध्यक्ष गणेश थापाले एन्फाभित्र गरेको भनिएको भ्रष्टाचारको बिषयलाई अन्तराष्ट्रिय स्तरमा लबिङ गर्ने काम पाण्डेले गरेका थिए । पछिल्ला ८ बर्षदेखि वर्तमान नेतृत्वसंग जोडिदै आएका पाण्डेले अब अलग बाटो तय गर्ने निर्णय लिएका हुन् ।
याे पनि पढ्नुस - ‘चेन्ज एन्फा’का अभियान्ता पाण्डेले छाडे एन्फा