काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय एन्फा नेतृत्वसंग असन्तुष्ट रहदै आएका पाण्डेले अन्तराष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
उनले फुटबलको सेवा गर्ने मौका दिएकोमा एन्फालाई धन्यवाद दिएका छन् । नेपाली फुटबललाई समर्थन गर्ने आफ्नो अठोट जिवनको एउटा अंग भएको उल्लेख गर्दै उनले आफु जहाँ भएपनि फुटबललाई सहयोग गर्न पाउदाँ खुसी हुने बताएका छन् ।
ब्यङ्ग्यात्मक शैलीमा उनले भनेका छन्, तिमी सबैलाई नजिकबाट चिन्न पाएकोमा म धन्य छु ।
उनले नेपाली फुटबलको विकासको कामना गर्दै एन्फाका महासचिव ईन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन् ।
एन्फा नेतृत्वसंग असन्तुष्टी जनाउँदै उनले केही महिना अघि पदबाट राजीनामा दिएका थिए । तर त्यसको औपचारिक घोषणा आज पत्रमार्फत गरेका छन् ।
एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा निर्वाचित हुने बित्तिकै कार्यसमितिको पहिलो बैठकले पाण्डेलाई अन्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । पाण्डे वर्तमान अध्यक्ष शेर्पाको ‘चेन्ज एन्फा’ अभियानका महत्वपुर्ण सदस्य थिए ।
आफ्ना योजना र सल्लाहा नेतृत्वले वेवास्ता गरेको भन्दै उनी पछिल्लो समय एन्फा जान छाडेका थिए ।
एन्फा प्रवक्ता किरण राईले राजीनामाको बिषय आफुलाई थाहा नभएको बताउँदै बुझेर प्रतिक्रिया दिने खेलपाटीलाई बताए ।