श्याम काजी अवाले लामो समयबाट बक्सिङ खेलसँग आबद्द रहदै आएका छन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य अवाले संघको अन्तर्राष्ट्रिय सम्बन्ध तथा जिल्ला र क्षेत्रिय व्यवस्थापन गर्ने गर्छन् ।
नेपालमा बक्सिङ खेलबारे प्रश्न गर्दा सदस्य अवालेले बक्सिङ खेल प्रगतितर्फ गईरहेको बताए । तर, अवालेले नेपालमा सरकार र संघकै कमजोरीले बक्सिङको विकास आफ्नो गतिमा नभएको बताए ।
ललितपुर जिल्ला बक्सिङ संघमा १२ बर्षबाट प्रवक्ताको जिम्मेवारीमा रहेका अवालेसँग खेलपाटी डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
नेपालमा बक्सिङ खेलको अवस्था अहिले कस्तो छ ?
नेपाली बक्सिङ अहिले प्रगतिमार्गमा गईरहेको छ । जसको मूल्यांकन गर्ने विभिन्न तरिका हुन्छ । मैले संघको सदस्यको नाताले भनेर मात्र भएन, जिल्ला र क्षेत्रमा कति गतिविधि भयो ? अन्तर्राष्ट्रिय सहभागिता र प्रतिफल महत्वपूर्ण हुन्छ । यो अनुसारमा नेपाल बक्सिङ संघ प्रगतिको बाटोमा गईरहेको छ ।
एसियन,साग खेलकुदमा पदक ल्याउने र ओलम्पिक खेलमा पदकको सम्भावना रहेको बक्सिङ पछिल्लो समय खस्किएको छ किन ?
यसमा विविध कारणहरु छन् । बक्सिङ खेल दक्षिण एसियामा तहल्का मच्चाउन सक्ने खेल हो, एसियन गेम्समा ६ मेडल जितिसकेको छ र ओलम्पिकमा पनि आधा दर्जन खेलाडी सहभागिता भैसकेका छन् । तर, यो बिचमा राज्यको कमजोरी भनौ या संघको कमजोरी भनौ । हामीले राम्रो नीति जनमानसमा लैजान नसकेको हुनाले जुन रुपमा प्रगति हुनु पर्ने हो, भएन । हाम्रो प्रगति भइरहदा अन्य राष्ट्रले चै हाम्रो भन्दा धेरै प्रगति गरेको कारण हाम्रो प्रदर्शन खस्किएको देखिएको हो ।
नेपालमा बक्सिङ खेल खस्कनु संघमा देखिएको विवाद हो या अरु केहि छ ?
नेपालमा दुखको कुरा भन्नु पर्दा प्राय सबै संघमा विवाद देखिएको छ । संघमा राम्रो गर्छु भनेर आएकाहरुलाई पनि खुट्टा तान्ने प्रवृति छ । हाम्रो संघमा पनि नभएको हैन विभिन्न तत्वहरु छन् । हामी संघको २५ जना सदस्यहरु एक जुट भएर गइरहेका छौ । तरपनि बाह्य शक्तिहरु सक्रिय भएर विवाद र खुट्टा तान्ने कार्यहरु भइरहेको छ, म स्विकार गर्छु । हामीले सबैलाई साम्य पारेर, समेटेर लगे मात्र बक्सिङको विकास हुने सबैलाई मनन भईसकेको कारण विगतमा भएको कमीकमजोरी र बिगतमा भएको मनमुटाब केहि मत्थर भएको छ ।
संघको विवाद समधान गर्न केहि तयारी छ कि छैन ?
हामीले संघको विवाद समाधान गर्न खोजिरहेका छौं । एसियन गेम्सपछि विशेष साधारणसभा बोलाउने कोशिस गरिरहेका छौं, बोलाइसकेका छैनौं । विधानमा उल्लेख नभएका कतिपय कुराहरु छन्, जो बक्सिङभन्दा बाहिर रहेर संघलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुलाई समेटेर लैजानु छ । त्यसको लागि बिधान संसोधन नगरी कार्यसमितिले मात्र समेट्न सकिन्न । बिशेष साधारणसभा गरेर छुटेका जिल्ला र क्षेत्रहरुलाई समेटेर लैजाने छौं र बाँकी रहेको विवादहरु सधैको लागि समाधान गरेर लैजाने छौं ।
नेपाली बक्सिङको विकास कसरी हुन्छ ?
हामी जब निर्वाचित भयौ, दुई बर्ष अघि त्यसमा हामीले स्कुल बक्सिङ कार्यक्रम ल्याएका थियौं, हाम्रो त्यो प्रमुख एजेन्डा थियो । स्कुल बक्सिङलाई हामीले युथ लेभलबाटै लगेनौ भने हामीलाई गार्हो हुन्छ भन्ने थियो । किनकि छिमेकी भारतले १२ – १५ बर्षमा बक्सिङमा छलाङ्ग मारेको देखेको छौ । यसको मुख्य जड भनेको युथ बक्सिङ हो । त्यसको कारण संघले स्कुल बक्सिङको लागि छुट्टै समिति बनाएर काम गरेका छौ । जसमा काठमाडौँ भ्यालीका ४५ वटा स्कुलका प्रिन्सिपल र स्पोर्ट्स टिचरलाई बोलाएर तीन पटक संवाद गरिसकेका छौ । १७ स्कुलहरुले त् बक्सिङ सुरु नै गरेको छ । अझै हामीले प्रशिक्षकहरु उपलब्ध गराउन सकेको छैनौ, भौतिक सामग्रीहरु उपलब्ध गराउन सकेको छैनौं, त्यो कामलाई अगाडी बढाएर स्कुल लेभल, युथ लेभल र क्लब लेभलमा धेरै भन्दा धेरै बक्सिङका क्रियाकलापहरु गर्न सकेमा नयाँ नयाँ प्रतिभावान खेलाडी निस्कन सक्ने छ ।
बक्सिङ खेलको विकासको लागि अन्तर्राष्ट्रिय संघसँग कस्तो सम्बन्ध छ, के कस्तो पहल गरिरहनु भएको छ ?
हाम्रो संघको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ एसोसियसन (आइबा) हो । क्षेत्रको हिसाबमा एसियन बक्सिङ फेडेरसन (एएसबिसी) हो । संघले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी दिएको कारणले भन्नु पर्दा गत जनवरीमा दुवईमा आइबाको मिटिङमा हामी सहभागी भयौ । हामीले धेरै भन्दा धेरै एसोसियसनका प्रमुख तथा आइबाका व्यक्तिसँग भेट गर्यौ । त्यहाँ हामीले स्पष्ट रुपमा हाम्रो कुराहरु समस्याहरु राख्न सकेको छौ । त्यसअघि उज्वेकिस्तानमा हामीले हाम्रो कुराहरु गरेका थियौ । नेपाललाई हेर्छौ भन्ने कुराहरु भएको थियो । नेपाललाई फाइदा हुने कार्यहरु प्रक्रियागत तरिकाले अघि बढीसकेको थियो । तर, आइबामा पनि यसअघिका अध्यक्षले विविध कारणले पद छाड्नु पर्यो । अध्यक्षको पद छाडेसँगै हामीमा आउने सहायता कार्यहरु पनि तुहिएको थियो ।
बक्सिङ विकासको लागि ठोस नीति तर्जुमा तयार गर्नु भएको छ कि छैन र?
हामी निवार्चित भएदेखि नै हामीले चार बर्षे कार्ययोजना बनाएका थियौ । कति हामीले पुरा गर्यो । कति पुरा गर्न सकेको छैनौ । नसक्नुको कारण कलह र विवादको कुरा आयो । त्यसले हाम्रो माइन्ड डिस्ट्रब भयो । भाड्न खोज्ने कार्यहरु भयो । त्यसले हाम्रो रफ्तारलाई धक्का पुगेको छ । सबै लागेको भए अहिलेको भन्दा अझै विकास हुने थियो ।
बक्सिङ एकेडमीको अवधारणा बनाउनु भएको छ, कहिले पुरा हुन्छ ?
हामीले बक्सिङ एरिना बनाउन खेलकुद परिसदसँग कुरा गरिसकेका छौं । सदस्यसचिबले हामीलाई जग्गा पनि देखाईसक्नु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिषदसँगै १ रोपनी जग्गा छ । त्यसमा दीर्घकालीन बनाउने कोशिश गरेका छौं । कानुनी रुपमा केहि अड्चन छ । जिल्ला प्रशाशनमा निवेदन दिएका छौं । त्यो जग्गा प्रशासनले खाली गरेमा बक्सिङ संघ आफैले सरकारसँग सहयोग मागेर र फन्ट जुटाएर बक्सिङ एकेडमी नै सुरु गर्ने विचार गरेका छौ । त्यो पुरा भयो भने पक्कै पनि अहिलेको वोर्ड मात्र हैन जो समिति आएपनि राम्रो प्लेटफर्म तयार हुन्छ ।
बक्सिङमा परिवार नै लाग्नु भएको छ । संघको कार्यमा गोजीबाट खर्च गरिरहनु भएको छ, किन ?
यो एउटा बक्सिङ प्रतिको मोह र बक्सिङ प्रतिको आस्था र केहि गर्छु भनेर आएको हुनाले हो । अध्यक्ष दिलदार हुनुहुन्छ र मैले पनि उहाको कार्यमा सहयोग गर्दै आएको छ । हाम्रो परिवार नै बक्सिङ भनेपछि हुरुक्कै हुन्छौ । सरकारले दिएको रकमले प्रतियोगिता संचालन गर्न पनि पुग्दैन । दुई बर्षमा हामीले १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका छौं । तीन ठुला राष्ट्रिय प्रतियोगिता भईसकेको छ । त्यसमा करोडौ खर्च भएको छ । तर, हामी व्यापारमा पनि रहेको हैसियतले हामी केहि भाग चै बक्सिङ र राष्ट्रको खर्च गरिरहेका छौं । त्यसमा हामीलाई गौरव लागिरहेको छ । यो हाम्रो लगानी खेर जादैन, एउटा राष्ट्रको नाम राख्नेको नाममा खर्च गरिरहेका छौं ।
बक्सिङ प्रतियोगिताको लागि व्यवसायिक घरानासँग सहकार्य किन भएको छैन् र?
प्रायोजकसँग कुरा गर्दा सुरुवातमा हामीलाई सरकारको आधिकारिकता चाहिन्छ । सुरुवातमा हामीलाई त्यो भएन । हामीलाई राष्ट्रिय खेलकुद परिसद र नेपाल ओलम्पिक कमिटिबाट मान्यता पाउन १ बर्ष लाग्यो । त्यसमाथि संघमा किचलो आयो ।
जति गर्नु पर्ने थियो त्यो भएन । यो कार्यमा अध्यक्षमात्र अघि बढेर भएन, सबै २५ जना सदस्यको बराबरी हक हो यो । हामी आर्थिक कुरा र स्पोन्सर जुटाउने कुरामा चुकिरहेका छौं । तर, भर्खरै हामीले यो कार्य सुरु गरेका छौं । हामीले खाका तयार गरिसकेका छौं । स्कुल बक्सिङको लागि हामीले १-२ बैंकहरुसँग कुराहरु पनि गरिसकेका छौं ।
भिडियोमा हेर्नुस :