काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका राखेपका सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकसंगको औपचारिक सम्झौता कार्यक्रममा आफुलाई ओभरटेक गर्न खोजिएको बताएका छन् ।
क्रिकेटसंग असम्बन्धित व्यक्तिले मुख्य प्रशिक्षकसंगको सम्झौता कार्यक्रम राखेकाले आफु सो कार्यक्रममा उपस्थित नभएको सदस्य सचिवको जिकिर छ ।
‘कार्यक्रम सञ्चालनको प्रक्रियानै पुगेन । जसले काम गर्नुपर्ने थियो, ती आधिकारिक मान्छे भएनन् ।’ उनले भने, ‘राखेपले गठन गरेको क्रिकेट समन्वय समिति मार्फत काम हुनुपर्ने थियो । केहीले ओभरटेक गर्न खोजेको देखियो ।’
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा उमेश पटवाललाई नियुक्त गरेको थियो ।
पटवालसंग औपचारिक सम्झौता गर्ने कार्यक्रम शुक्रबार निर्धारण गरिएको भन्दै पत्राचार गरिएको थियो ।
तर राखेप सदस्य सचिव विष्टले राखेपसंग समन्वय नगरि कार्यक्रम आयोजना गरिएकाले आफु उपस्थित नभएको बताए ।
राखेपले क्यान नभएको अवस्थामा सरकारी स्तरबाट काम गर्न राखेप कोषाध्यक्ष शैलेश कर्मचार्यको संयोजकत्वमा क्रिकेट समन्वय समिति गठन गरेको छ । तर सो समितिसंग समन्वय नगरि कार्यक्रम आयोजना गरेपछि सदस्य सचिव विष्ट सम्झौता कार्यक्रममा उपस्थितनै भएनन् ।
‘अधिकार मान्छेमात्र गर्न सो कार्यक्रमको आयोजना गर्न सक्छ । समन्वय भएको छैन भन्ने जानकारीमा आएर म नगएको हो । सदस्य सचिव विष्टले भने, ‘अन्य मान्छेले कार्यक्रम आयोजना गर्न प्राविधिक रुप मिल्दैन । त्यो अधिकार राखेपलाई मात्र छ ।’
औपचारिक सम्झौताको कार्यक्रम हुन नसकेपछि प्रशिक्षकलाई पत्रकारसंग अन्तरक्रिया गराईएको थियो । सो क्रममा औपचारिक सम्झौता हस्ताक्षरको ब्यानर समेत हटाईएको थियो । सो कार्यक्रममा प्रशिक्षक पटवालसंगै कप्तान पारस खड्का र राष्ट्रिय टिमका म्यानेजर रमण सिवाकोटी मञ्चमा देखिएका थिए ।
‘कामको जस कसले लिने भन्ने होडबाजी भयो । समन्वय नगरि कार्यक्रम आयोजना गरेको देखेर सहभागी नभएको हुँ ।’ सदस्य सचिव विष्टले भने, ‘राखेपले तोकेको मान्छे र संस्थासंग गर्न मिलेर काम गर्ने गरि प्रशिक्षकसंग सम्झौता हुनेछ ।’
राष्ट्रिय क्रिकेट टिमका खेलाडीले नयाँ प्रशिक्षकका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई पटक पटक आग्रह गर्दै आएका थिए । आईसीसीले राखेपसंगको समन्वयमा नेपाली टिमका पुर्व ब्याटिङ्ग प्रशिक्षक पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
उनी एक बर्षका लागि नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनलाई मासिक ७ हजार अमेरिकी डलर दिने गरि आईसीसीले नेपाल पठाएको हो ।
नेपाल उत्रिए लगत्तै सञ्चारकर्मीसंग बोल्दै मुख्य प्रशिक्षक पटवालले नेपाललाई टी–२० विश्वकपको यात्रा तय गराउने आफ्नो लक्ष्य रहेको बताएका थिए ।
उनले घरेलु संरचना विहिन नेपाली क्रिकेटले पछिल्ला दुई बर्षमा प्राप्त गरेको सफलता र खेलाडीको मेहनतले आफुलाई नेपाल तानेको उल्लेख गरेका थिए ।
राखेपले आजै दिउँसो त्रिपुरेश्वरस्थित केन्द्रिय कार्यालयमा पटवालसंग औपचारिक सम्झौतामा हस्ताक्षर गर्दैछ । आईसीसीले नियुक्त गरेपनि प्रशिक्षकको खटनपटनको जिम्मेवारी राखेपले तोक्नेछ ।