काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेबाट सञ्चालन गर्ने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले शीर्ष डिभिजनको लिग मंसिरको दोस्रो साता सुरु गर्ने निर्णय गरेको हो ।
यस्तै एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम समावेश गर्दै यसै बर्ष राष्ट्रिय लिग सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै जिल्ला लिगबाट प्रथम हुने टिमको सहभागीतामा ७ प्रदेशका ७ टिमबीच एन्फा प्रेसिडेण्ट कप सञ्चालन गर्ने निर्णय भएको छ । प्रदेश लिग सञ्चालन गर्न प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भीमबहादुर थापा र प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग सञ्चालन गर्न समिति गठन गरेको छ । यस्तै एन्फा प्रेसिडेण्ट कप फुटबल प्रतियोगिता समेत संघले आयोजना गर्ने तय भएको छ ।
बैठकले यसै बर्ष जुनमा हुने फिफा कांग्रेसको बैठकमा संघका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्ग, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामालाई प्रतिनिधित्व गरी पठाउने निर्णय गरेको छ ।
यस्तै जिल्ला लिग सञ्चालन तथा व्यवस्थापन संयोजकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गलाई मनोनयन गरिएको छ । क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी सहायक महासचिव अरुणमान जोशीलाई दिईएको छ ।
यस्तै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको संयोजकमा कोषाध्यक्ष राजेन्द्र न्यौपानेलाई मनोनयन गरिएको छ । यस्तै उप मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको संयोजकमा कार्यसमिति सदस्य तथा महिला फुटबल समितिको संयोजकलाई संयोजकको रुपमा मनोनयन गरिएको छ ।
यस्तै बैठकले ललितपुरको बृद्वि विकास खेल मण्डलको खेल मैदानमा शौचालय र नुहाउने धारा सहितको दुईवटा ड्रेसिङ्ग रुपमा निर्माण गर्ने निर्णय गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमको महिला तथा पुरुष तथा विभिन्न उमेर समुहका खेलाडीहरु आधिकारिक मैत्रिपुर्ण खेलमा सहभागी हुदाँ जादा दैनिक भत्ता २५ अमेरिकी डलर दिने निर्णय भएको छ । यसअघि दैनिक २० डलर खेलाडीले प्राप्त गर्दै आएका थिए ।
यस्तै एन्फा होस्टल भवनको पहिलो तल्लाको मर्मत कार्यकालागि कन्सल्टेन्सी नियुक्त गरी कोटेसन माग गर्ने र संघलाई आवश्यक पर्ने विभिन्न कर्मचारीका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन खुलाउने निर्णय भएको छ ।