काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिम तयारीको प्रारम्भिक प्रशिक्षणमा ७ खेलका ८४ खेलाडी सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपले भोली (बिहिबार) देखि औपचारिक रुपमा सुरु गर्न लागेको सागको विशेष प्रशिक्षणमा प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई सहभागी गराउन लागिएको हो ।
राखेपले सुरुवातमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिस खेलका खेलाडीको प्रशिक्षण सुरु गर्न लागेको हो ।
जेठको पहिलो साता सबै खेलको प्रशिक्षण सुरु गर्ने भनिएपनि बजेट अभावका कारण तेस्रो सातामात्र ७ खेलको प्रशिक्षण सुरु हुन लागेको हो ।
राष्ट्रिय टिम तयारी समितिका निर्देशक अर्जुन बिकले एक साता भित्र सबै खेलको प्रशिक्षण सुरु गर्ने तयारी गरिएको बताए । बुधबार बिहान भएको उद्घाटन सत्रमा बोल्दै उनले चाँडैनै सबै खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा सहभागि गराउने उल्लेख गरे ।
विशेष प्रशिक्षणको उद्घाटन गर्दै राखेप सदस्य सविच केशवकुमार विष्टले खेलाडीले अनुशासनमा रहेर प्रशिक्षकले सिकाएको सिप सिक्नुपर्ने सुझाव दिए ।
उनले खेलाडीको क्षमतालाई जाँचेर प्रशिक्षण गराउन प्रशिक्षकलाई आग्रह गरे । उनले खेलाडी र प्रशिक्षकको कामको अनुगमन गर्न समेत खेल संघलाई आग्रह गरे । उनले बैज्ञानिक तरिकाले सागको तयारी सुरु गर्नुपर्ने बताउँदै त्यसकै तयारी स्वरुप विशेष प्रशिक्षण थालेको उल्लेख गरे ।
राखेप च्याम्पियनसिप सागको छनोट आधार
सदस्य सचिव विष्टले दशै अघि राखेप च्याम्पियनसिप आयोजना गरेर सागका लागि अन्तिम खेलाडी छनोट गर्ने बताए ।
‘दशै अगाडी राखेप च्याम्पियनसिप गछौ । अन्तिम छनोट त्यही समय हुनेछ । अन्तिम खेलाडी सोही च्याम्पियनसिपबाट छनोट हुनेछन् ।’ उनले भने ।
राखेपले राष्ट्रिय प्रतियोगिता नहुने अवस्थामा प्रत्येक बर्ष राखेप च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।
सागको तयारी प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरिएको छ ।