काठमाडौं । कैलाश प्रधानको नेतृत्वका चितवन जिल्ला क्रिकेट संघ गठन भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार पुन निर्वाचन गर्ने चितवन पहिलो जिल्ला बनेको छ ।
गत जेठ ४ गते बसेको बिशेष साधारण सभाले प्रधानको नेतृत्वमा नयाँ कमिटि चयन गरेको हो । प्रधानसंगै उपाध्यक्ष सुदिप पिया, सचिवमा उमेश पिया, कोपाध्यक्षमा भरतकाजी कुँवर रहेका छन् ।
कार्यसमिति सदस्यमा प्रशान्त्कुमार पिया, राजु प्रसाद गुप्ता, आर्या अर्याल, उत्सव श्रेष्ठ, अर्जुन केसी, प्रितम पिया, नवराज श्रेष्ठ, खुशबहादुर गुरुङ, सिद्वार्थलाल गुरुङ, सुरज ज्ञवाली र अनिल अधिकारी छन् ।
नव निर्वाचित कमिटिका अध्यक्ष प्रधानले छिट्टै बैठक बसेर केन्द्र र प्रदेशका लागि प्रतिनिधि छनोट गरिने खेलपाटीलाई बताए ।
क्यानको नयाँ नेतृत्वको निर्वाचन गराउने म्यानडेट पाएको स्वतन्त्र कमिटिले २० वटा जिल्ला कमिटिको चुनावलाई बैधता दिदै अन्य १९ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको थियो ।
सहमती अनुसार कमिटिले १२ जिल्लामा नयाँ विधान अनुसार सदस्य थप गरेर र अन्य ७ जिल्लामा पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्णय गरेको थियो ।
पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्देशन पाएको चितवन जिल्ला कमिटिले जेठ ४ गते विशेष साधारण सभाको मिति तय गरेको थियो ।