काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् ।
मंगलबार बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित विरबहादुर खड्काले दाबी पेश गरेका थिए । तर, बहुमतको आधारमा नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो ।
एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन । नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्नु अघि अर्का आकांक्षी विरबहादुर खड्कासहित ३ सदस्यले बैठक बहिस्कार गरेका थिए । खड्कासहित सदस्यमा पूर्ण मान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । उनीहरुले कार्य समिति बैठक र उपाध्यक्ष नियुक्त्रिकाे प्रकृया विधान सम्मत नभएकाे भन्दै बैठक बहिष्कार गरेका थिए ।
यसअघि एन्फाले नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा समेत वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न सकेको थिएन । एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वाचित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृण्ण थापाले ५२ मत ल्याएका थिए ।
बैठकले यसै बर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्ने निर्णय गरेको छ । यस्तै आगामी बर्षबाट राष्ट्रिय लिग सञ्चालन गर्ने समेत एन्फाले बताएको छ ।
बैठकले भौतिक पुर्वाधार मर्मत सम्भार तथा निर्माण गर्न संघका सदस्य, जिल्ला फुटबल संघ र क्लबहरुमा सम्भाव्यता अध्ययन गरी आगामी बर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पुर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले संघको कर्मचारीको विकास, सेवा सुविधा, काम कर्तव्य र अधिकार समावेश भएको कर्मचारी कार्यविधि पारित गरि लागु गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीको रुपमा ७ प्रदेशमा संयोजक तोकेको छ । प्रदेश १ को जिम्मेवारीमा सहायक महासचिव बसन्त अर्याल, प्रदेश २ मा सहायक महासचिव मोहम्मद समिउल्लाह, प्रदेश ३ मा मोहनकुमार बस्नेत, प्रदेश ४ मा सहायक महासविच विश्व पौडेल, प्रदेश ५ मा सहायक महासचिव प्रकाश पंगेनी, प्रदेश ६ र ७ मा प्रकाश विष्ट तथा केन्द्रिय स्तरको कार्यक्रमका लागि अरुणमान जोशीलाई दिएको छ ।
बैठकले यु–१३ र यु–१६ बाट छनोट भएको खेलाडीलाई बुटवल र धरानको एन्फा टेक्निल सेन्टरमा राखेर सञ्चालन गर्ने निर्णय गरेको छ ।