काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले संघको वरिष्ठ उपाध्यक्षको टुङ्गो आज (मंगलबार) लगाउँदैछ । संघको कार्यसमिति बैठकमार्फत एन्फाले वरिष्ठ उपाध्यक्षको टुङ्गो लगाउन लागेको हो ।
नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा समेत एन्फाले वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न सकेको थिएन । नेतृत्वको आकांक्षी धेरै देखिएपछि वरिष्ठ उपाध्यक्ष छनोटको एजेण्डा पछाडी पर्दै आएको थियो । विधानमा वरिष्ठ उपाध्यक्ष छनोट एन्फा कार्यसमिति बैठकले गर्ने उल्लेख छ ।
सोही बिषयमा निर्णय गर्न एन्फाले आज कार्यसमितिको बैठक बोलाएको छ । एजेण्डाको दोस्रो बुँदामा वरिष्ठ उपाध्यक्षको छनोटलाई समावेश गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा पंकजबिक्रम नेम्वाङ्ग र विरबहादुर खड्काले दाबी पेश गरेका छन् ।
एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वाचित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृण्ण थापाले ५२ मत ल्याएका थिए ।
दुवै जना शेर्पाको प्यानलमा रहेर निर्वाचनमा विजयी भएका थिए ।
आजको बैठकले एन्फाको बार्षिक कार्यक्रम तथा बजेट पास गर्नेछ । यस्तै कर्मचारी कार्यविधिलाई समेत कार्यसमिति बैठकले पारित गर्नेछ ।