काठमाडौं । चार दिने साइकल र्याली ‘टुर डे लुम्बिनी पेडल फर पिस’ बुधबारबाट सुरु हुने भएको छ ।
आयोजक टुर डे लुम्बिनीले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्मको साइकल र्याली जेठ १ बाट सुरु भई जेठ ४ गते सम्म हुने जनाएको छ।
काठमाडौंको स्वयम्भुबाट सुरु हुने र्याली चन्द्रागिरी,मकवानपुरको चित्लाङ, हेटौँडा, चितवन, बुटवल हुँदै लुम्बिनी पुगेर सकिने आयोजकले जनाएको छ ।
र्यालीमा स्वदेशी र विदेशी राइडरहरुको सहभागिता रहनेछ । र्यालीमा राइडरहरुले ३२५ किमीको दुरी तय गर्नेछन् ।
र्यालीमा सहभागिता जनाउन स्वदेशीका लागि ४ हजार ५ सय र विदेशीका लागि १०० अमेरिकी डलर दर्ता शुल्क राखिएको छ ।
र्यालीमा सहभागीको खाने बस्ने र लुम्बिनीबाट काठमाडौं फर्कने सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ ।