काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले धेरै पदक जित्ने दाबी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले धेरै पदक जित्ने आफ्नो लक्ष्य र विश्वास रहेको दाबी पेश गरे ।
‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ ।’ उनले भने ।
तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा र खेलाडी छनौट गर्ने बताउँदै उनले सागको तयारी सुरु भएको जानकारी दिए ।
‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं ।’ उनले थपे ।
आगामी डिसेम्बर १ देखि १० तारिखसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिदै उनले प्रतियोगितालाई लक्षित पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको बताए ।
मन्त्री विश्वकर्माले साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेश हुने जानकारी दिदै त्यसपछि तालिकाबद्व रुपमा काम अघि बढ्ने उल्लेख गरे ।
‘कार्यविधि पेश भएपछि हामी मसिनो ढंगले तयारीमा लाग्छौं । आन्तरिक प्रतियोगिता सञ्चालन गर्नपनि आधुनिक रंगशाला निर्माण गर्नुपर्ने भएकोले सोही अनुसार निर्माण प्रक्रियामा लागेको छु ।’ उनले थपे ।