काठमाडौं । नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा शुक्रबार सम्मानित भएका छन् ।
प्रशिक्षक लामालाई काठमाडौं खेलकुद समाजले गणेशमान सिंह कप एसइइ फुटसल प्रतियोगिताको उद्घाटन अवसरमा सम्मान गरेको हो ।
तेक्वान्दोको खेलको फरक क्षमता भएका खेलाडीहरुलाई प्रशिक्षण गराई अन्तर्राष्ट्रिय एरिनामा पहिलोपटक नेपाललाई पदक दिलाउन सफल भएको भन्दै समाजले प्रशिक्षक लामालाई सम्मानित गरेको हो ।
प्रशिक्षक लामालाई प्रमुख अतिथि तथा युवा नेता गगन थापाले सम्मान पत्रले सम्मानित गरेका थिए ।
प्रशिक्षक लामाको प्रशिक्षण नेपालले हालै टर्कीको अन्ताल्यामा सम्पन्न आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
च्याम्पियनसिपमा बिक्रम श्रेष्ठले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका थिए ।
यस्तै तेस्रो एसियन पारा तेक्वान्दोमा पनि प्रशिक्षक लामाको नेतृत्वमा नेपालले कास्य जितेको थियो ।
गणेशमान सिंह कप एसइइ फुटसल प्रतियोगितामा उपत्यकाका ४० सहित कुल ४९ टिमको सहभागीता रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार सहित उपाधि हात पार्ने छन् ।