काठमाडौं । विनाशकारी भुकम्पमा निधन भएकाको सम्झनामा नेपाल सितोरियो कराते संघको देउराली डोजोले बिहिबार दीप प्रज्वलन गरेको छ ।
डोजोले गोरखा केन्द्रबिन्दु रहेको शंक्तिशाली भुकम्प गएको चार वर्ष पूरा भएको दिन भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।
नयाँ वानेश्वरस्थित देउराली डोजोमा आयोजित दीप प्रज्वलन कार्यक्रममा खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा डोजोका अध्यक्ष राजेश जोशी, नेपाल कराते महासंघका पूर्व प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, वरिष्ठ कराते प्रशिक्षक सिंहबहादुर राना, टेबुल टेनिसका राष्ट्रिय खेलाडी नविन सिंह, कराते प्रशिक्षक तारा गुरुङ, करोतका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक अमिर राना तथा प्रशिक्षक कुशल श्रेष्ठको उपस्थिति रहेको थियो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पमा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।
देउराली डोजोले उदयीमान कराते खेलाडीहरुलाई प्रशिक्षण दिनुका साथै देशका लागि पदक जितेका खेलाडीहरुलाई सम्मान तथा सहयोग गर्ने गरेको छ ।
भूकम्पपश्चात यस डोजोले पीडितहरुलाई विभिन्न समयमा राहत तथा सहयोग उपलब्ध गराउँदै आएको छ । केही समयअघि भूकम्पबाट प्रभावित दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदक विजेता सुनिल लामाको परिवारलाई डोजोले १ लाख ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।