पोखरा । एयिशन कप ट्राईयाथलन प्रतियोगिता शनिबार पोखरामा हुने भएको छ ।
नेपाल ट्राईयाथलन संघको आयोजना र अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यतामा हुने प्रतियोगितामा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ ।
पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन् भने जापानी र कोरियन खेलाडीहरु पोखरा आईपुगिसेका छन् ।
दक्षिण एशियामानै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने सवै भन्दा बढि खेलाडीहरु जापानका रहेका छन् । जसमा विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रिय वरियतामा दोस्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि यस प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा पुरुषतर्फ नेपालका नितेश मानन्धर, बशन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्ने छन् भने महिलातर्फ सोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली खेलाडीहरुकाविच मात्र हुने दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागित रहने छ ।
प्रतियोगितामा ट्राईयाथन र दुवाथलन तर्फ प्रतिस्पर्धा हुने छ । ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।
एशियन कपकै दौरान दक्षिण एशियाली ट्राईयालन च्याम्पियनसिप पनि आयोजना गरिने छ । नेपालले यस अघि छैटौ पटक सम्म दक्षिण एशियाली ट्राईयालन च्याम्पियनसिप आयोजना गरि सकेको छ ।
नेपालले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिताको स्तरलाई हेरेर अन्तराष्ट्रिय महासंघले नेपाललाई एयिशन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो । कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न अन्तराष्ट्रिय ट्राईयाथलन युनियन (आईटियु) को मान्यता लिनु पर्ने हुन्छ ।