बाँके । नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको बोर्ड बैठकले नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन २० देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
खेलकुद मन्त्री जगत विश्वकर्मालाई पारिवारिक शोक परेकाले बोर्ड बैठकमा उपस्थित भएनन् । मन्त्री अनुपस्थित रहेपछि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
उपाध्यक्ष तिम्सिनाले नवौं राष्ट्रिय खेलकुद पोखरामा आयोजना गर्ने बिषयमा निर्णय गरिएको बताए ।
पुर्वाधार बनेको अवस्थामा कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने अधिकार दिने बिषयमा छलफल भएको छ । थप प्रस्ताव नआएपछि यसअघि सहमती बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरेका छौ । उनले खेलपाटीसंग भने ।
पुर्वाञ्चलमा भएकाे साताै राष्ट्रिय खेलकुदकाे समय तत्कालिन पश्चिमाञ्चलले आठौं राष्ट्रिय खेलकुद आयोजनामा दाबी गरेको थियो । तर तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपालीले निकै जोड गरेर मध्यपश्चिमलाई आठौंको आयोजना गर्न दिने निर्णय गराएका थिए । उनले सोही समय नवौंको आयोजना पश्चिमाञ्चललाई दिने औपचारिक सहमती गराएका थिए ।
वर्तमान खेलकुद मन्त्री जगत विश्वकर्मा समेत गण्डकी प्रदेशबाट निर्वाचित सांसद हुन् । उनले समेत नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना हुने बताएका थिए । पछिल्लो समय कर्णाली प्रदेशले समेत नवौंको आयोजनाको बिषयमा चर्को लबिङ गरेकाे थियाे ।