नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुमा विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।
सोमबार सम्पन्न प्रतियोगितामा आर्मीले सर्वाधिक १४ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले थप १ रजत र ३ कांस्यसहित कुल १८ पदक जित्यो ।
दोस्रो भएको एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्यो । पुलिसले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्दा कर्णाली प्रदेशले १ स्वर्ण जित्यो ।
प्रतियोगिता अन्तर्गत मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु÷छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् ।
सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए । पुरुष ताव सु÷कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए ।
सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।
महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।