बाँके । माहोल यतिबेला आठौं वृहत राष्ट्रिय खेलकुदको छ । बाँकेको नेपालगञ्ज सहित प्रदेश ५ का विभिन्न जिल्लामा प्रतियोगिता चलिरहेको छ । नेपाली भलिवलकी नम्बर एक स्पाईकर प्रतिभा माली प्रदेश नम्बर तीनको प्रतिनिधित्व गर्दै यतिबेला नेपालगञ्जमा छिन् । तर प्रतियोगिताको व्यवस्थापनमा उनलाई पटक्कै चित्त बुझेको छैन ।
‘भलिवल एक त ईन्डोर खेल हो । नेपालगञ्जमा उसै त गर्मीको मौसम चलिरहेको छ । तर खेल बाहिर बसेर घाममा खेल्न परेको छ ।’ भेटको सुरुवातमै प्रतिभाले गुनासोका पोका खोलिन् ।
‘मैदान समेत राम्रो छैन । माटोमा साना साना गिटी छन् । त्यसैले राम्रोसंग खेल्न पाएको छैनौ । चिप्लिएर घाईते हुन्छौ जस्तो लागेको छ । मौसमले समेत साथ दिएको छैन ।’ उनी थप्छिन् ।
प्रतियोगिताको आयोजना र व्यवस्थापन दुई फरक पाटा हुन् । तर नेपाली खेलकुदले प्रतियोगिताको आयोजनानै प्रधान बिषय मान्यो । कमजोर व्यवस्थापन सधैको नियति बन्दै आयो । अभाव र गुनासाका त्यही नियति आठौं संस्करणसम्म समेत जारी छ ।
खेलाडीको दुख र गुनासा मैदान पुग्नु अघिनै सुरु हुन्छ । अरु कुरा छोडौ, खेलाडी लगाउने सामान्य पोशाक समेत ठिक हुदैन । बाँकी तपशिलका बिषय रहे ।
‘हामीले लगाएका जर्सी माग गरे अनुसारको छैन । कसैलाई ठुलो भएको छ, कसैलाई सानो । लगाएको हाफ पाईन्टमा विवाद निस्कियो । हामीले आफ्नै पैसाले हाफ पाईन्ट किनेर लगाएर खेल्यो ।’ प्रतिभाले भन्छिन्, ‘नेपालगञ्जमा गर्मी हुन्छ । एउटा मात्र जर्सी छ । राष्ट्रिय खेलकुद जस्तो प्रतियोगितामा कम्तिमा दुई जर्सी हुनपर्ने हो ।’
आठौंलाई लक्षित गर्दै पाँच नम्बर प्रदेशले ठुला खेल पुर्वाधार पाएको छ । त्यसमा समेत आधा अर्व बढीका पुर्वाधारको लगानी नेपालगञ्ज रंगशाला आसपासमा केन्द्रित छ । प्रदेशलाई खेल आयोजनाको जिम्मेवारी दिदाँ खेलस्थल मात्र बाँडिएका छैनन्, पुर्वाधार समेत छरिएका छन् । बाँकेकै खजुरामा समेत भलिवल एकेडेमी बन्ने भएको छ । एक हिसावले एकेडेमीले पुर्वाधारको प्रारम्भिक स्वरुप पाएको छ । त्यही मैदानमा आठौंका भलिवल खेलहरु सञ्चालन भईरहेका छन् ।
समयमै बजेट नआउदाँ आठौंको पुवर्धारका काम समयमा सकिएन । पुर्वाधार समयमै नबन्दा प्रतियोगिता अनिश्चित बन्यो । त्यसपछि नेतृत्वको सबै कसरत प्रतियोगिता आयोजनामै केन्द्रित बन्यो । खेल त सुरु भयो । नेतृत्वलाई समेत आफु सफल भएको प्रचार गर्न पुग्यो । तर यसको व्यवस्थापनको समिक्षा सायदै गरिने छ । कारण खेलकुदको भद्रगोल व्यवस्थापन हाम्रो नियतिनै हो । हतार हतारमा लटरपटर गरिने काम अब परम्परानै बनिसक्यो । लटरपटर संस्कृतिले जिवनशैलीकै रुप धारण गरिसक्यो ।
एक उदाहरणनै भनौ न, प्रदेश नम्बर तीनलाई भलिवलका खेल बैशाख ४ गते हुने भनिएको थियो । तर निर्धारित समयमा खेल हुन सकेन । पाँच गतेको खेल स्थगित भयो । सबै खेलाडी उद्घाटनको मार्चपासमा सहभागि भए । खेलाडीले दुई दिन आराम गरेर बिताउनु प¥यो ।
‘परिक्षाको तयारी छाडेर राष्ट्रिय प्रतियोगिता खेल्न आएका छौ । तर दुई दिन आराम गरेर बस्न प¥यो । त्यसपछि लगत्तै मैदानमा उत्रन निकै गाह्रो भयो । यसले प्रतियोगिता निकै भद्रगोल र संयोजन नभएको देखिन्छ ।’ प्रतिभाले राष्ट्रिय खेलकुदको भोगाई सुनाईन् ।
आठौंका लागि तयार पारिएका अधिकांश पुर्वाधार पुर्ण रुपमा तयार बनेका छैनन् । रंगशालको प्याराफिटको काम अझै चलिरहेको छ । पोखरीले पुर्णता नपाउँदा पौडीको खेल नीजि होटलको स्विमिङ पुल राखिएको छ । सुटिङ हलको काम पुरा नहुदाँ एक दिन ढिला मात्र प्रतियोगिता सुरु भयो । धेरै पुर्वाधारको काम राता रात सकिए । हतार हतारमा बनेका पुर्वाधारको गुणस्तरमाथि प्रश्न उठ्नेनै छ ।
भलिवलकी प्रतिभा एक प्रतिनिधि पात्र हुन् । उनले भोगेका समस्याले आठौं राष्ट्रिय खेलकुदको पुरै चित्र नभन्न सक्छ । तर यसले नेपाली खेलकुद र खेलाडीको समकालिन अवस्था चित्रण गर्छ ।
आठौं संस्करणसम्म आईपुग्दा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर घरेलु खेलकुदले लिएको शिक्षा के हो ? मुख्य प्रश्न यही हो ।
आठौंसम्म आईपुग्दा राष्ट्रिय खेलुकद हरेक संस्करणमा अझ परिस्कृत र व्यवस्थित बन्नुपर्ने हो । तर प्रतियोगिताको व्यवस्थापन र खेलाडीका अवस्था निरन्तर ओरालो लाग्दै आईरहेको छ ।
खेलाडीले राज्यलाई देखाएको रातो कार्ड सरकारको सुखी खेलाडी र समृद्व खेलकुदको नाराका लागि चुनौती हो ।