भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टी-ट्वान्टी क्रिकेटमा प्रदेश १ र प्रदेश २ ले जित निकालेका छन् ।
शुक्रबार भएको खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले पराजित गर्दा प्रदेश २ ले प्रदेश ६ लाई ९ विकेटले पराजित गर्यो ।
प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ३ ले १८.३ ओभरमा ७२ रन बनाउँदा अल आउट हुन पुग्यो । प्रदेश पाँचका लागि रबिन जोशीले सर्वाधिक २४ रन बनाए ।
यस्तै इशान पाण्डेले २० र हेम पौडेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङमा प्रदेश १ का दिपेश कंडेलले ४ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित खेलमा ८ विकेट क्षतिमा १०६ रन बनाएको थियो । प्रदेश एकका लागि पुष्प थापाले २४ रनको योगदान गरे । यस्तै सन्नी पुन र राजन मगरले समान १२/१२ रन र श्रवन यधबले ११ रन जोडे । बलिङमा प्रदेश तिनका सोनु देवकोटाले २ विकेट हात पारे ।
दोस्रो खेलमा प्रदेश ६ ले दिएको ५८ रनको सामान्य लक्ष्य प्रदेश २ ले १ विकेटको क्षतिमा पुरा गर्यो । ५८ रनको ल्क्ष्य पछ्याएको प्रदेश २ ले १०.१ ओभरमा ५८ रन जोड्यो । प्रदेश दुईका लागि हरि बहादुर शाहले ३३ रनको योगदान गरे । यस्तै सुबाश चौधरीले १४ र हसिम अन्सारी २ रनमा अविजित रहे । बलिङमा प्रदेश ६ का राजेन्द्र जुङ शाहीले एक विकेट हात पारे ।
यस अघि टस जितेर ब्याटिङ गरेको प्रदेश ६ ले पुरै ओभर खेल्दै ५७ रन बनाएको थियो । उसका लागि दिवन पुन र राजेन्द्र जुङ शाहीले समान ११/११ रन बनाउनु भाएक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङ तर्फ प्रदेश २ का कुमार थापाले ४ विकेट हात पारे ।