घोराही । एपिएफ क्लबका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको युगलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
घोराहीस्थित कभर्डहलमा श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९ र २१-११ को सेटमा पराजित गरे ।
यस्तै एपीएफकै जेशिका गुरुङ र गौतम सिंह कठायतको जोडीले आर्मीका अनुमाया राई र रत्नजित तामाङको जोडीलाई १०-२१, २१-१९, २१-१७ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरे ।
पुरुष एकलतर्फको फाइनलमा आर्मीका रत्नजित तामाङले एपिएफका दिपेश धामीसंग खेल्ने छन् । रत्नले सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई २१-११, २१-९ को जित निकाले । दिपेशले प्रदेश १ का विकास श्रेष्ठलाई २१- ११, २१-१५ ले पाखा लगाए ।
महिला एकलको फाईनलमा आर्मीकी नङसल देवी तामाङ र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा नङसलले प्रदेश १ की सिता राईलाई २१-१७, २१-९ ले र रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-१७, २१-१८ ले हराउँदै उपाधी नजिक पुगे ।
पुरुष जोडीतर्फ एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले एपिएफका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीसंग भिडन्त पक्का गरे । तामाङ र श्रेष्ठको जोडीले आर्मीकै पविन लिनथेप र रुकेश महर्जनको जोडीलाई २१-११, २१-१९ ले पराजित गरे ।
यसै गरि महिला युगलतर्फ आर्मीका नङसल देवी तामाङ र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी माथि २१-१२, २१-१८ को जित निकाल्दै फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङसंगको भेट पक्का गरेकाचन । पुजा र जेशिकाको जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१-१६, २१-१८ ले पन्छाए ।