काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ । बृहत खेलकुद प्रतियोगिता बिहिबार साँझ मात्रै राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक उद्घाटन गरिन् ।
आठौंको उद्घाटन बिहिबार भएपनि खेलहरु भने चैत २७ बाट नै सुरु भईसकेको छ । आठौंमा ३५ खेल समावेश छन् । राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।
उद्घाटन अघि सम्म विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भईसकेको छ । बिहिबारसम्म आठौंमा १०३ स्वर्णसहित कुल ३८४ स्वर्ण पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।
पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ३४ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ८५ पदक जितेको छ ।
यस्तै नेपाल पुलिस क्लबले १९ स्वर्ण, १७ रजत र १७ कास्य पदकसहित कुल ५३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १५ स्वर्ण, १२ रजत र २३ कास्यसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य पदक गरी ५२ पदक हात पारेको छ । सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण,६ रजत र ११ कास्यसहित २२ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण,६ रजत र ५ कास्यसहित १७ पदक जितेको छ ।
प्रदेश ५ ले ४ स्वर्ण,८ रजत र २१ कास्यसहित ३३ पदक, प्रदेश १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३३ र कर्णाली प्रदेशले २ स्वर्ण,१ रजत र २ कास्यसहित ५ पदक जितेको छ ।