फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

काठमाडौं। मलेसियामा नेपाली क्रिकेट टोलीले अब प्रत्येक खेललाई छुट्टाछुट्टै चुनौतीका रूपमा लिनुपर्नेछ। कारण, यसपटक एसिसी प्रिमियर कपको उपाधिसँग एउटा ठूलो अवसर जोडिएको छ, सन् २०२७ मा हुने एसिया कपको यात्रा।
तेस्रो संस्करणको एसिसी प्रिमियर कप आइतबारदेखि मलेसियामा सुरु भइसकेको छ। १० टोली सहभागी प्रतियोगितामा नेपाल उपाधि जित्ने उद्देश्यसहित मैदानमा उत्रँदैछ। तर‚ उपाधिको दौडमा पुग्नुअघि उसले समूह चरणका चार खेलमा आफूलाई प्रमाणित गर्नुपर्नेछ।
नेपाल समूह ‘ए’ मा छ। बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया उसका समूहका प्रतिद्वन्द्वी हुन्। अर्को समूहमा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर छन्।
समूह चरणबाट अगाडि बढ्ने बाटो शीर्ष दुई स्थानमा पुगेर खुल्नेछ। त्यसपछि सेमिफाइनल र फाइनल पार गर्नुपर्नेछ। एसियन क्रिकेट काउन्सिलका अनुसार अन्तिम खेल जित्ने टोलीले मात्र २०२७ को एसिया कपमा ठाउँ बनाउनेछ।
यही बिन्दुले यसपटकको प्रतियोगितालाई अघिल्लो संस्करणभन्दा फरक बनाएको छ। सन् २०२४ मा भएको पछिल्लो प्रिमियर कप टी–२० ढाँचामा खेलाइएको थियो। त्यतिबेला युएई, ओमान र हङकङले एसिया कपको अवसर पाए।
नेपाल भने चौथो स्थानमा सीमित भयो। यसपटक त्यस्तो अवसर धेरै टोलीलाई छैन। उपाधि जित्ने एक टोलीले मात्र एसिया कपको ढोका खोल्नेछ।
नेपालका लागि त्यो ढोका अपरिचित पनि होइन। सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई सात विकेटले हराएर उपाधि जितेको थियो। अहिले मलेसियामा उत्रँदा नेपाली टोलीसँग त्यही प्रतियोगिताको च्याम्पियन अनुभव छ।
तर‚ विगतको उपलब्धिले मात्र यसपटकको यात्रा सहज बनाउने छैन। नेपालको पहिलो परीक्षा सोमबार बहराइनसँग हुनेछ। बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल ५० ओभरको प्रिमियर कपमा यी दुई टोलीको पहिलो भेट हो।
तीन दिनपछि नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ। यस प्रतिद्वन्द्वीविरुद्ध नेपालको पछिल्लो रेकर्ड भने उत्साहजनक छ। पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल मलेसियासँग पराजित भएको छैन। त्यसमाथि प्रतियोगिताअघि खेलेका दुवै अभ्यास खेल पनि नेपालले जितेको छ।
प्रिमियर कपको इतिहासमा भने मलेसिया नेपालका लागि नयाँ प्रतिद्वन्द्वी होइन। सन् २०२३ को पहिलो संस्करणमै नेपालले उसलाई ६ विकेटले हराएको थियो।
समूह चरणको बाँकी दुई खेलले पनि नेपालको यात्राको स्वरूप तय गर्नेछन्। भदौ २१ गते साउदी अरेबियासँग खेल्दा नेपालसँग विगतको दुई खेलको अनुभव हुनेछ। तीमध्ये एकमा नेपाल विजयी भएको थियो भने अर्को खेल रद्द भएको थियो।
हङकङसँगको तथ्यांक भने नेपालको पक्षमा त्यति सहज छैन। ५० ओभरमा भएका चार भेटमध्ये नेपालले एक खेल जितेको छ। हङकङले दुई खेल जितेको छ भने एक खेल रद्द भएको छ। समूह चरणको अन्तिम खेलमा भदौ २३ गते नेपालले यही टोलीको सामना गर्नेछ।
तयारीको बलमा भरोसा
विदेशी मैदानमा हुने प्रतियोगिताका लागि नेपालको तयारीलाई भने सकारात्मक रूपमा हेरिएको छ। टोलीले भारतमा प्रशिक्षण गरेको छ। त्यसपछि मलेसियामै दुई अभ्यास खेल खेलेर स्थानीय पिचको अनुभव लिएको छ।
यही तयारी नेपालको बलियो आधार बन्न सक्छ। अझ प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ। भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ। मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई नजिकैबाट नियालेका छन्। त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ।
अभ्यास खेलमा देखिएको खेलाडीहरूको प्रदर्शनले पनि उनलाई आशावादी बनाएको छ। देव खनाल, आसिफ शेख र अर्जुन कुमालले राम्रो प्रदर्शन गरेका छन्।
तर, नेपालको वास्तविक मजबुती बलिङमा छ। यसको आधार मलेसियाविरुद्धको दोस्रो अभ्यास खेललाई लिन सकिन्छ। नेपालले १ सय ७१ रन मात्र बनाए पनि बलरहरूको प्रदर्शनका कारण २७ रनको जित निकाल्न सफल भएको थियो।
नेपालको समूह चरणमा तत्काल सामना हुने टोलीहरू फरक भए पनि उपाधिको दौडमा ओमान र युएईलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्।
यसरी हेर्दा नेपालको प्रिमियर कप यात्रा दुई तहमा विभाजित छ। पहिलो, समूह चरण पार गरेर अन्तिम चारमा पुग्ने काम। दोस्रो, सेमिफाइनल र फाइनलको दबाबपूर्ण खेलमा आफूलाई अब्बल साबित गर्ने चुनौती।
अन्तिम लक्ष्य भने एउटै छ—उपाधि। त्यो उपाधि हात परे नेपालले सन् २०२७ को एसिया कप खेल्नेछ। त्यसैले मलेसियामा हुने यो प्रतियोगितामा नेपालको एसिया कपमा चढ्ने अर्को खुड्किलो हुनेछ।








-1788105755828.jpeg&w=3840&q=75)


-1788059680773.webp&w=3840&q=75)
