घोराही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा प्रदेश १ की सिता राईले सेमिफाइनलमा स्थान बनाएकी छिन् ।
घोराहीस्थित कभर्डहलमा पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै सिताले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
नेपाल ब्याडमिन्टन संघको ११ औं वरीयतामा रहेकी सिताले ३ नं. वरीयताकी शोभालाई २१-१७, २१-१५ ले पाखा लगाउन सफल भएकी हुन् ।
अब सिताले फाईनल प्रवेशका लागि नेपाल नं. १ आर्मीकी नङसल देवी तामाङको सामना गर्ने छिन् । आर्मीकी नङसलले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१-१८, २१-१२ ले पन्छाईन् ।
यस्तै आर्मीकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङलाई २१-१६, २१-९ ले पाखा लगाउँदै आर्मीकै रशिला महर्जनसंगको भेट पक्का गरिन् ।
जेशिकाले महिला टिम ईभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नं. एक खेलाडी नङसललाई पराजित गरेकी थिईन् । रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१-१४, २१-११ ले पराजित गरिन् ।
पुरुष एकलतर्फ आर्मीका नंम्बर एक खेलाडी रत्नजित तामाङले सेमिफाइनलमा स्थान पक्का गरे । उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१-१०, २१-११ ले पराजित गरे । अब रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसंग प्रतिस्पर्धा गर्ने छन् ।
प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकल तर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१-१०, २१-१० ले पन्छाउँदै रत्नसंगको भेट पक्का गरेका हुन् ।
यस्तै बिकास श्रेष्ठले आर्मीका नविन श्रेष्ठलाई २१-१५, १५-२१, २१-१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । अब फाईनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१-१७, २१-१५ ले पन्छाउंदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
महिला युगलतर्फ आर्मीका नङसल देवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् ।
यस्तै प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडी तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले पनि सेमीफाइनमा स्थान बनाए ।