घोराही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा आर्मीका रत्नजित तामाङ, एपिएफका दीपेश धामी र सुदूरपश्चिमका प्रिन्स दाहालले अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।
रत्नले एपिएफका गौतम कठायतलाई २१-७, २१-९ ले पाखा लगाए । यस्तै दीपेशले सुदूरपश्चिमका देवराज शर्मालाई २१ - १३, २१-१२ ले तथा प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई २१ - २३, २१ - १०, २१ - १० ले पन्छाउदै अन्तिम आठ प्रवेश गरे ।
यस्तै आर्मीका नविन श्रेष्ठ र प्रफुल महर्जन पनि अन्तिम आठ प्रवेश गरे । नविनले एपिएफका विजित थापा मगरलाई २२-२०, २१ - ८ ले तथा महर्जनले एपिएफकै साजन कृष्ण ताम्राकारलाई १३ - २१, २१ - १८, २१ - १२ ले पन्छाए ।
अन्तिम आठ प्रवेश गर्ने अन्यमा पुलिसका जीवन आचार्य र दीपक बोहरा तथा प्रदेश १ का बिकास श्रेष्ठ पनि रहे ।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ आर्मीका चार खेलाडी नङसल देवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राईले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
यस्तै एपिएफकी जेशिका गुरुङ र शोभा गौचन तथा प्रदेश १ का सिता राई र सिमा राजबंशीले पनि अन्तिम आठको यात्रा तय गरे ।