घोराही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बास्केटबलको पुरुषमा त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेका छन् ।
दाङको घोराहीमा बुधबार भएको पुरुषको फाइनलमा आर्मीले प्रदेश नम्बर तीनलाई ७६–५८ को स्कोरले हरायो । पहिलो क्वाटरमा आर्मीले २ अङ्कले अग्रता बनाउदै १४–१२ स्कोर बनायो । दोस्रो क्वाटरमा आर्मीले राम्रो प्रदर्शन गर्दै २७–१२ को स्कोरले हाबी बन्यो ।
तेस्रो क्वाटरमा ७ अङ्कले पछि पार्दै प्रदेश तीनले आर्मीलाई १३–२१ स्कोरमा रोके पनि चौथो क्वाटरमा आर्मीनै हाबी बन्दै २२–१३ ले पराजित गर्यो । आर्मीका रामकृष्ण घतानेले सर्वाधिक २३ अङ्क जोडे ।
दोस्रो भएको प्रदेश तीनले रजत र तेस्रो भएको नेपाल पुलिस क्लबले कास्य पदक हात पारे ।
महिलातर्फको फाइनलमा पुलिसले प्रदेश नम्बर तीनलाई ४५–२९ को स्कोरले हरायो । पुलिसले प्रदेश तीनलाई शुरु देखिनै दबाबमा राख्दै पहिलो क्वाटर ९–४, दोस्रो ५–८, तेस्रो १५–११ र चौथो क्वाटर १४६ को अन्तरले पराजित गर्यो ।
पुलिसका तर्फबाट अनुशा मल्लले सर्वाधिक १३ अङ्क जोड्न सफल भइन् । महिला तर्फ प्रदेश नम्बर तीनले काश्य र त्रिभुवन आर्मी क्लबले रजत पदक जिते ।