काठमाडौं । प्रदेश नम्बर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भोली (बिहिबार) नेपालगंजमा हुँदैछ ।
आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा,पसिना र पौरख आफ्नै देशमा' भन्ने नारासहित नेपालगंजको रंगशालामा बिहिबार बेलुका बिशेष कार्यक्रमकाबीच आठौंको औपचारिक उद्घाटन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले उद्घाटनका लागि सम्पूर्ण तयारी समेत पुरा भएको जनाएको छ । राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विधा देवी भण्डारीले गर्ने जानकारी समेत गराएको छ । उद्घाटन कार्यक्रम बेलुका ५:३० बजे सुरु हुनेछ ।
आठौंको उद्घाटन बिहिबार भएपनि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता भने सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।