बुटवल । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत लन टेनिसको महिला युगलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडीले स्वर्ण जितेका छन् ।
देविनगरस्थित लन टेनिस कोर्टमा आइतबार सलोनी र अस्लेशाको जोडीले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडीलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो ।
फाइनलमा पराजित भएपछि एपीएफकै प्रेरणा र ऐनीको जोडीले रजतमा चित्त बुझाए । आर्मीका अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडीले कास्य पदक जितेका छन् ।
यस्तै पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे ।
प्रदिप र नवीनको जोडीले रजत पदकमा चित्त बुझाए । धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक जिते ।
पुरुष एकलतर्फ एनआरएनका संरक्षण भुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६-०, ६-३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरे । यसैगरि आर्मीका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६-३, ७-५ को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे ।
महिला एकलतर्फ आर्मीकी अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६-२, ६-० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरिन् । एपीएफकी प्रेरणा कोईरालाले आर्मीका ईरा रावतलाई ६-०, ५-७, ६-२ को सुपर ट्राईबेकरमा जित निकाल्दै फाईनलमा अभिलाषासंगको भेट पक्का गरिन् ।