काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा गण्डकी प्रदेशका अमृत थापा मगर र प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको सेमीफाइनलमा अमृतले प्रदेश २ का दीपक थापालाई ३-० को सोझो सेटमा पराजित गरे । अमृतले दिपकलाई ११–६, ११–८ र ११–३ ले हराए ।
पुरुष सिंगल्समै अर्को सेमिफाइनलमा प्रवीणले प्रदेश ३ कै राजेन्द्र शाक्यको चुनौतो ३-२ ले पन्छाए । प्रवीणले राजेन्द्रलाई ६-११,११-४,११-७,१३-१५ र ११-७ ले पाखा लगाए ।
फाइनल खेल शनिबार हुनेछ ।
महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो ।
दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् ।