नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ ।
नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए ।
महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए । पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने । उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे ।
प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा पुरुष÷महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार बक्सिङ नेपालगन्जस्थित ज्ञानोदय मावि र बुद्धिचाल बर्दियाको ठाकुरद्वारामा सुरु हुँदैछ ।