काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर र प्रदेश ३ का राजेन्द्र शाक्यले सेमीफाइनलमा स्थान बनाएका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा बिहिबार अमृतले उमिद शाक्यलाई ३-० को सोझो सेटमा पराजित गरे ।अमृतले शाक्यलाई ११–५ , ११–२ र ११–८ ले हराए ।
पुरुष सिंगल्समै राजेन्द्र शाक्यले प्रदेश ३ कै अमिर ब्लोनलाई ३-१ को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरे । राजेन्द्रले अमिरलाई ३–११,११–२,११–३ र ११–६ को सेटमा पराजित गरे ।
यस्तै प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले एपीएफका बिक्रम मगरलाई ११–९,११–२ र ११–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।
त्यस्तै प्रदेश २ का दीपक थापाले प्रदेश १ का निशान्त अग्रवाललाई ११–३,११–५,५–११ र ११–६ को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरेका छन् ।
महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् ।
भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् ।
कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन् । प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा पन्छाइन् ।