काठमाडौं । नेपाल एथ्लेटिक्स संघको नयाँ नेतृत्वमा राजीव बिक्रम शाह निर्वाचित भएका छन् । चितवनको सौराहामा आईतबार सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले साहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
कार्यसमितिमा शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, जनकबहादुर रावल, दिपक रानाभाट, धनबीर चौधरी, दिलबहादुर बम, जितेन्द्र चौधरी, गजबहादुर गुरुङ, कुमार श्रेष्ठ छन् ।
कार्यसमितिको बैठकले पदाधिकारीको चयन गर्नेछ । संघमा थप चार सदस्य अध्यक्षले मनोनित गर्न पाउने विधानमा उल्लेख छ ।
जिल्ला संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद राखेपले एथ्लेटिक्स सघको चुनाव रोक्दै आएको थियो । गत शनिबार राखेपले संघलाई अधिवेशनकालागि स्विकृती प्रदान गरेको हो ।
लगत्तै चिवतनमा आईतबार बसेको संघको अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्षले जिम्मेवारी पुर्वक काम नगरेको भन्दै संघका पुर्व पदाधिकारी नेतृत्वसंग असन्तुष्ट थिए ।
एथ्लेटिक्स संघका काठमाडौं जिल्ला प्रतिनिधि सुनिल राजवंशीले विधान विपरित संघको अधिवेशनले नेतृत्व चयन गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे ।
‘जिल्लाको विवाद यथावत राखेर परिषदले कसरी मान्यता दियो भन्ने बिषय महत्वपुर्ण हो ।’ उनले भने ।
‘चुनावको प्रक्रिया मिलेको छैन । आफैले रोकेर राखेको चुनावलाई राखेपले कसरी राता रात मान्यता दियो ?’ उनले प्रश्न गरे ।
संघभित्रको आन्तरिक विवादका कारण नेपाली खेलाडीको राष्ट्रिय र अन्तराष्ट्रिय सहभागिता अनिश्चित बन्दै आएको थियो ।
एसियाली एथ्लेटिक्स संघले समेत तत्काल निर्वाचनमार्फत अघि बढ्न नेपाल एथ्लेटिक्स संघलाई चेतावनी दिदै आएको थियो । उसले अप्रिल २० भित्र निर्वाचन नगरेमा नेपाललाई निलम्बन गर्ने चेतावनी दिएको थियो ।