काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली पारा तेक्वान्दो खेलाडीले जापानमा विशेष प्रशिक्षण गर्ने भएका छन् ।
जापानको मिकी सिटी नगरपालिकाको सहयोगमा नेपाली पारा तेक्वान्दो खेलाडी विशेष तयारीको मौका पाएको हो । नेपाल तेक्वान्दो संघले शुक्रबार मिकी सिटी नगरपालिकासंग २ बर्षे सम्झौता गरेको छ ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणा र मिकी सिटीको प्रतिनिधि तथा लालीगुराँस एनपीओका अध्यक्ष आकेमी मिजुब्दले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै पाँच पारा खेलाडीले जापानमा विशेष प्रशिक्षणको मौका पाएका छन् । प्रशिक्षणको लागि पाँच खेलाडी र प्रशिक्षकसहितको पारा टोली आगामी अगस्टमा जापान जानेछन् ।
नेपाली टोलीले एक साता जापानमा प्रशिक्षण गर्ने छन् । प्रशिक्षण अगस्ट ५ देखि ११ सम्म हुनेछ । प्रशिक्षणको अवधिमा लाग्ने सम्पूर्ण खर्च मिकी सिटीले व्यहोर्ने छ ।
जापान जाने नेपाली टोलीमा पलेसा गोर्वदन, बिक्रम श्रेष्ठ,रोहित हाङ राई, सुवास चन्द्र राई र दिपेश महत रहेका छन् । प्रशिक्षकमा कविरज नेगी लामा रहेका छन् ।