काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा बिहान ११ बजे पछि सुरु हुनेछ ।
प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भईरहेको समय राखेपको बोर्ड बैठक बस्न लागेको हो ।
यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन हुने बताउँदै आएका छन् ।
खेलकुदमन्त्री जगत विश्वकर्मा अर्को बर्ष बैशाखको पहिलो साता प्रतियोगिता आयोजना गर्न सकिने बताउँदै आएका छन् ।
नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिताको आयोजना अनिश्चित बनेको थियो ।
तर अहिले भिआईपी प्याराफिटको काम तिव्र गतिमा अघि बढेको छ । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएको छ ।
राखेप सदस्य सचिव केशवकुमार विष्ट यसै बर्ष प्रतियोगिता आयोजना गर्ने योजनामा रहेका छन् ।