काठमाडौं । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठले आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता चाँडै आयोजना गर्न आवश्यक रहेको बताएका छन् । प्रतियोगिताको नयाँ मितिलाई लिएर गृहकार्य अघि बढिरहेका बेला एनओसीका अध्यक्ष श्रेष्ठले चाँडै प्रतियोगिता आयोजना हुदाँ बाहिर राम्रो सन्देश जाने बताएका हुन् ।
‘यस बर्ष प्रतियोगिता आयोजना हुदाँ दुई बर्षमै प्रतियोगिता हुने राम्रो सन्देश बाहिर जान्छ । यसले एउटा मान्यतालाई स्थापित गर्छ ।’ उनले खेलपाटीसंग भने, ‘तर केही दिन तलमाथि परेर अर्को बर्ष छुदाँ समेत ठुलो फरक पर्दैन ।’
खेलाडीको जिल्ला हुँदै प्रदेश छनोट भईसकेको अवस्थामा प्रतियोगिताको मिति अनिश्चित बन्दा खेलाडीको मनोबिज्ञानमा असर पर्ने उनको भनाई छ ।
‘संसदीय समितिले समेत मिति तोक्न खेलकुद मन्त्रायललाई निर्देशन दिईसकेको छ । पुर्वाधार लगायतमा ठुलो लगानी भईसकेको छ । त्यसैले खेल आयोजना अनिवार्य छ ।’ उनले थपे ।
नेपालमा आयोजना हुने सागका लागि खेलाडी छनोट गर्न आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिता समयमै आयोजना हुदाँ बाहिर राम्रो सन्देश जाने उल्लेख गरे ।
‘दुई बर्षमा आयोजना गर्ने हाम्रो मान्यता हो, निर्णय समेत हो । त्यसले खेलाडी र संघ संस्थालाई समेत सोही अनुसार तयारी अघि बढाउन मदत गर्छ ।’ उनले थपे ।