काठमाडौं । नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले तेस्रो संस्करणको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।
र्याफ्टिङ च्याम्पियनसिप अन्तर्गत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा विजयी हुँदै नेपाल कायकले च्याम्पियनसिको उपाधि जितेको हो ।
चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो ।
नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३०० पूर्णाङ्क) र डाउन रिभर (४०० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १००० हजार अंक प्राप्त गरेको हो । च्याम्पियन टिमले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो । ओभरलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त गर्यो ।
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजना तथा पर्वतिय खेलकुद महासंघ अन्तरगत भएको च्याम्पियनसिपमा प्याडल नेपालले स्प्रीन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो । बिहीबारको दुई विधामा प्याडल नेपालले स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो ।
त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो । अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो । नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रीन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालीकाकी अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपाने लगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा एक विभागीयसहित कुल ११ टिमले प्रतिस्पर्धा गरेको संघका महासचिव एवं च्याम्पियनसिप जुरी सुदीप गौतमले जानकारी दिए ।
कुल ११ टिम रहेको र्याफ्टिङमा प्रत्येक टिममा ८ सदस्य खेलाडीको सहभागिता रहेको थियो । व्यक्तिगत विधाको कायकमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।