स्पेन सेमिफाइनलमा

काठमाडौं। खेलको सुरुदेखि नै स्पेनले आक्रामक र प्रभावशाली प्रदर्शन गर्यो। त्यसैको परिणामस्वरूप सन् २०१० को विश्व च्याम्पियनले सुरुआती अग्रता लिन सफल भयो।
यद्यपि, बेल्जियमले पहिलो हाफमै बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनायो। दोस्रो हाफमा दुवै टोलीले लगातार आक्रमण गरे पनि थप एक मात्र गोल स्पेनले गर्यो। अन्ततः २–१ को जित निकाल्दै प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरे।
प्रशिक्षकले पेड्रीको स्थानमा फाबियन रुइजलाई सुरुआती टोलीमा मौका दिएका थिए। उनले प्रशिक्षकको विश्वासलाई निराश पारेनन्। खेलको ३०औँ मिनेटमा उत्कृष्ट सामूहिक आक्रमणपछि रुइजले स्पेनलाई अग्रता दिलाए।
डिबक्स नजिकबाट डानी ओल्मोले प्रहार गरेको शक्तिशाली शट बेल्जियमका गोलरक्षक थिबो कोर्टुवाले उत्कृष्ट बचाउ गरे पनि बललाई पूर्ण रूपमा क्लियर गर्न सकेनन्। रिबाउन्डमा आएको बललाई रुइजले कुनै गल्ती नगरी गोलतर्फ प्रहार गरे। उनको शट बेल्जियमका एक डिफेन्डरमा लागेर दिशा परिवर्तन गर्दै जालीभित्र पुग्यो र स्पेनले १–० को अग्रता बनायो।
गोल खाएपछि बेल्जियम खेलमा फर्किन आक्रामक बन्यो। स्पेनको बलियो रक्षापंक्तिलाई छलेर उत्कृष्ट प्रत्याक्रमण गर्दै ४१औँ मिनेटमा चार्ल्स डे केटेलारेले सानदार फिनिसिङमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यो गोल यस प्रतियोगितामा स्पेनले खाएको पहिलो गोल थियो। यसअघि प्रतियोगिताभर कुनै गोल नखाएको स्पेनको मजबुत रक्षा अन्ततः बेल्जियमले तोड्न सफल भयो। पहिलो हाफ १–१ को बराबरीमा सकियो।
दोस्रो हाफमा बेल्जियमलाई ठूलो झट्का लाग्यो। टोलीका पहिलो रोजाइका गोलरक्षक थिबो कोर्टुवा चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा युवा गोलरक्षक सेने ल्यामेन्स मैदानमा उत्रिए।
खेलको ८८औँ मिनेटमा बेल्जियमको डिबक्सभित्र सिर्जना भएको अव्यवस्थित अवस्थाबाट बल पाएका स्पेनका मिडफिल्डर मिकेल मेरिनोले शान्तचित्त हुँदै सटिक प्रहार गरे। उनको शट गोलपोस्टको बीचबाट जालीमा पुग्दै स्पेनलाई २–१ को निर्णायक अग्रता दिलायो।
बाँकी समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि स्पेनले २–१ को जित हात पार्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्यो।












