केप भर्डेकोले विश्वकप जितिसकेको छ !

विश्वकपको राउन्ड अफ ३२ मा अर्जेन्टिनासँगको प्रतिस्पर्धाअघि केप भर्डेका राष्ट्रपति जोजे मारिया नेभेसले आफ्नो टोलीलाई साहसिक सन्देश दिएका छन्।
वर्तमान विश्वविजेता अर्जेन्टिनाजस्तो बलियो टोलीसँग खेल्न लागे पनि कुनै डर नराखी आत्मविश्वासका साथ मैदानमा उत्रिन उनले खेलाडीहरूलाई आग्रह गरेका छन्।
केप भर्डेले शनिबार बिहान नेपाली समयअनुसार राति ३:४५ बजे अर्जेन्टिनाको सामना गर्नेछ। पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेका लागि यो खेल ठूलो चुनौती भए पनि टोली आक्रामक र निडर फुटबल खेल्दै प्रशिक्षक लियोनेल स्कालोनीको टोलीलाई चुनौती दिने लक्ष्यमा छ।
समाचार संस्था इन्फोप्रेससँगको अन्तर्वार्तामा राष्ट्रपति नेभेसले भने,‘हाम्रो टोली आफ्नो पहिचान, शक्ति र आत्मविश्वासका साथ खेल्नेछ। अर्जेन्टिनासँग खेल्न हामीलाई कुनै डर छैन। केप भर्डेलाई निर्माण गर्दा जस्तै विश्वास, आशा, शक्ति, प्रतिबद्धता र दृढ संकल्पका साथ हामी मैदानमा उत्रिनेछौं।’
उनले थपे,‘तथ्यांक वा जितको सम्भावनाले हाम्रो सोचलाई प्रभावित गर्दैन। मैदानमा आफ्नो क्षमता देखाउनु नै हाम्रो मुख्य उद्देश्य हो। यस प्रतियोगितामा केप भर्डेको वास्तविक परीक्षा भनेकै विश्वका ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु हो।’
राष्ट्रपति नेभेसले स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका टोलीका गोलरक्षक भोजिन्हाको पनि खुलेर प्रशंसा गरे। उनले भने,‘अर्जेन्टिनाविरुद्धको नतिजा जे आए पनि केप भर्डेले आफ्नो विश्वकप जितिसकेको छ। यो सफलता फुटबलका लागि मात्र होइन, देशको समग्र विकासका लागि पनि प्रेरणाको स्रोत बन्नेछ।’
केप भर्डेले विश्वकपको समूह चरणमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको थियो। त्यसपछि उरुग्वे र साउदी अरेबियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सहभागितामै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। अब अर्जेन्टिनालाई हराएर अन्तिम १६ मा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छ।













