सन्न्यास नलिने सुरमा रोनाल्डो !

नकआउट खेल सुरु हुनुअघि एउटा चर्चा जंगल सल्किएको डढेलो झैँ फैलिएको थियो। यसको स्रोत पनि सामान्य व्यक्ति होइनन्।
स्वयं क्रिस्टियानो रोनाल्डोकी दिदी कातिया आवेइरो। क्रोएसियाविरुद्धको खेलअघि टोरन्टो स्टेडियम बाहिर उनले भनेकी थिइन्,‘मेरो विश्वास छ, यो नै उनको अन्तिम यात्रा (लास्ट डान्स) हो।’
तर‚ २–१ को जितपछि पोर्चुगलका कप्तान रोनाल्डोले आफ्नी दिदीको उक्त भनाइलाई अस्वीकार गरेका छन्। ४१ वर्षीय स्टारले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुनै निर्णय नभएको स्पष्ट पारे।
आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे सोधिएको प्रश्नमा रोनाल्डोले भने,‘अहिले मेरो भविष्य सबैभन्दा महत्त्वपूर्ण विषय होइन। प्रतियोगिता सकिएपछि परिवारसँग बसेर छलफल गर्नेछु। त्यसपछि सबैका लागि उपयुक्त हुने निर्णय लिनेछु।’
गोन्कालो रामोसले इन्जुरी समयको निर्णायक गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यो जितसँगै पोर्चुगलले अब सोमबार अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। निर्धारित समयको अन्त्यतिर रोनाल्डो बेन्चमा रहँदा राफाएल लियाओको उत्कृष्ट क्रसलाई रामोसले हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।
यसअघि खेलको ६८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। यो विश्वकपको नकआउट चरणमा रोनाल्डोको करिअरकै पहिलो गोल पनि बनेको छ। उच्च लयमा रहेका उनले भने,‘म भावनामा बगेर निर्णय लिँदिनँ। सबै कुरा शान्त ढंगले सोचेर गर्छु। अहिलेका लागि यो क्षणको आनन्द लिनु नै सबैभन्दा महत्त्वपूर्ण हो।’
यसअघि खेल सुरु हुनुअघि रोनाल्डोकी दिदी आवेइरोले आफूलाई प्राप्त विश्वसनीय जानकारीका आधारमा समर्थकहरूले अब राष्ट्रिय टोलीबाट रोनाल्डोलाई बिदाइ गर्न सक्ने बताएकी थिइन्। उनले भनेकी थिइन्,‘सायद आज होइन, तर मलाई लाग्छ यो नै उनको अन्तिम यात्रा हुनेछ।’













