अन्तिम १६ मा पुग्यो स्विट्जरल्यान्ड

काठमाडौं। स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। शुक्रबार बिहान भएको खेलमा ब्रिल एम्बोलो र डान न्डोये ले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
अब स्विट्जरल्यान्डले शुक्रबार हुने कोलम्बिया र घानाबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आगामी मंगलबार भ्यानकुभरमा हुनेछ।
स्विट्जरल्यान्डले सन् १९३८ पछि विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन। यद्यपि‚ सन् १९५४ मा टोलीले प्लेअफ जित्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। पछिल्ला तीन विश्वकपमा पनि स्विट्जरल्यान्ड अन्तिम १६ सम्म पुगेको भए पनि त्यसपछिको यात्रा अघि बढाउन असफल भएको थियो।
यता, सन् २०१४ पछि पहिलो पटक विश्वकप खेलेको अल्जेरियाको यात्रा भने यही हारसँगै समाप्त भएको छ। उक्त संस्करणमा अल्जेरिया नकआउट चरणसम्म पुगेको थियो। तर, अन्ततः च्याम्पियन जर्मनीसँग पराजित भयो।
खेलको सुरुआती १० मिनेट अल्जेरियाले दबाब बनाए पनि त्यसपछि २० वर्षीय योहान मान्जाम्बीले दायाँतर्फबाट उत्कृष्ट क्रस उपलब्ध गराएपछि ब्रिलले सहज ट्याप–इनमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। यो उनको राष्ट्रिय टोलीका लागि २६औं अन्तर्राष्ट्रिय गोल थियो।
दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै डानले पेनाल्टी क्षेत्रबाहिरबाट शक्तिशाली प्रहार गर्दै दोस्रो गोल गरे। अल्जेरियाका गोलरक्षक लुका जिदानले डाइभ हाने पनि बल रोक्न सकेनन्। अल्जेरिया समूह चरणमा तेस्रो स्थानमा रहँदै नकआउट चरण पुगेको थियो।
रियाद महरेजको दुई गोलको मद्दतमा अस्ट्रियासँग ३–३ को बराबरी खेलेपछि अल्जेरिया र अस्ट्रिया दुवै टोली अघि बढेका थिए भने इरान प्रतियोगिताबाट बाहिरिएको थियो। यसअघि स्विट्जरल्यान्डले आयोजक क्यानडालाई २–१ ले पराजित गरेको थियो। योसँगै क्यानडाको पहिलो पटक घरेलु मैदानमा नकआउट चरण खेल्ने सपना समाप्त भएको थियो। उक्त खेलमा रुबिन भार्गास र योहान मान्जाम्बीले गोल गरेका थिए।
विश्वकपमा स्विट्जरल्यान्डका नयाँ उदाउँदा खेलाडीका रूपमा देखिएका २० वर्षीय योहानले हालसम्म दुई गोल र दुई असिस्ट गरिसकेका छन्। प्रतियोगिताको सुरुआती खेलमा बेन्चबाट मैदान प्रवेश गरेका उनले पछिल्ला दुई खेलमा सुरुआती रोजाइमा स्थान बनाएका छन्।
अल्जेरियाका मुख्य प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले २०१४ देखि २०२१ सम्म स्विट्जरल्यान्डको प्रशिक्षण सम्हालेका थिए। उनले २०१८ को विश्वकपमा स्विट्जरल्यान्डलाई समूह चरण पार गराएका थिए भने२०२० को युरोपियन च्याम्पियनसिपमा टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याएका थिए।













