मोड्रिचलाई बिदाइ ‘हग’
-1783052356885.png&w=3840&q=75)
विश्व फुटबलका दुई महान् खेलाडीका लागि यो अन्तिम विश्वकप मानिएको छ।
समूह चरण समाप्त भएसँगै नकआउट चरणमा क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच आमनेसामने हुने निश्चित भएपछि उनीहरूमध्ये एकको विश्वकप यात्रा टुंगिने तय भइसकेको थियो।
अन्ततः क्यानडाको टोरन्टोमा भएको रोमाञ्चक प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो भने मोड्रिचको विश्वकप यात्रा समाप्त भयो।

रोनाल्डो र मोड्रिच दुवै सुरुआती ११ मा रहँदै अर्को ऐतिहासिक कीर्तिमान पनि बनाए। विश्वकप इतिहासमा पहिलो पटक ४० वर्ष वा सोभन्दा बढी उमेरका दुई आउटफिल्ड खेलाडी एकअर्काविरुद्ध मैदानमा उत्रिएका हुन्।
खेलको ५३औं मिनेटमा गोल बेहोरेपछि पोर्चुगलको विश्वकप यात्रा त्यहीँ समाप्त हुने संकेत देखिएको थियो। तर‚ टोलीले आत्मविश्वास गुमाएन।
६८औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान रोनाल्डोले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यससँगै उनले विश्वकपको नकआउट चरणमा आफ्नो करियरकै पहिलो गोल पनि दर्ता गरे।

इन्जुरी समयसम्म खेल बराबरीमै रहेपछि अतिरिक्त समयमा पुग्ने अनुमान गरिएको थियो। तर‚ ९४औं मिनेटमा गोन्कालो रामोसले शानदार हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।
खेलको अन्तिम क्षणमा क्रोएसियाले बराबरी गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड ठहर गरेपछि गोलले मान्यता पाएन। त्यससँगै अत्यन्त नाटकीय रूपमा खेल पोर्चुगलको पक्षमा टुंगियो।

अन्तिम सिटीपछि दुवै टोलीका खेलाडीले एकअर्कासँग हात मिलाउने क्रममा रोनाल्डोले मोड्रिचलाई अँगालो हाल्दै सान्त्वना दिए। उनले मोड्रिचको टाउकोमा हात राखेर हौसला प्रदान गरे र त्यसपछि दुवैले फेरि भावुक हुँदै एकअर्कालाई अँगालो मारे।
आफ्ना पूर्व रियल मड्रिड सहकर्मी मोड्रिचबारे रोनाल्डोले भने,‘मैले लुकासँग धेरै वर्ष सँगै खेलें। उनी फुटबल इतिहासका एक महान् खेलाडी हुन् र आज पनि त्यत्तिकै महान् छन्। मैले उनलाई यो कुरा धेरै पटक भनेको छु। तिम्रो सबै उपलब्धिका लागि बधाई। आगामी जीवन र करिअरका लागि धेरै धेरै शुभकामना।’













