रोनाल्डोले थाम्न नसकेको आँशु

क्रोएसियालाई पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएपछि पोर्चुगलका खेलाडीले सामूहिक तस्बिर खिचाएर जितको उत्सव मनाए। तर‚ त्यो खुसीको क्षणमा पनि टोलीले आफ्ना दिवंगत सहकर्मी डियोगो जोटालाई भने बिर्सेन।
अमेरिकामा पोर्चुगलले जित मनाइरहँदा त्यसको भोलिपल्ट जोटाको पहिलो पुण्यतिथि परेको थियो। त्यसैले खेलपछि भएको फोटो सेसनमा कप्तान क्रिस्टियानो रोनाल्डोले जोटाको नम्बर २१ को जर्सी हातमा समातेर श्रद्धाञ्जली अर्पण गरे।

तस्बिर खिचिसकेपछि रोनाल्डोले उक्त जर्सी आफैं लगाउँदै आकाशतर्फ हेरेर औंला उठाई आफ्ना दिवंगत साथीलाई सम्झिए। त्यसपछि ‘ल्याप अफ अनर’ गर्ने क्रममा उनी आफ्नो भावना नियन्त्रण गर्न सकेनन् र भावुक हुँदै आँसु झारे।
खेलपछि आधिकारिक प्रसारणकर्तासँग कुरा गर्दै रोनाल्डोले भने,‘आजको दिन विशेष भएकाले म निकै भावुक भएको छु। लगभग एक वर्षअघि यही दिन डियोगो जोटाको निधन भएको थियो।’
-1783046791997.avif)
जोटाको सन् २०२५ जुलाई ३ मा स्पेनमा भएको सवारी दुर्घटनामा निधन भएको थियो। आफ्ना भाइ आन्द्रेसँगै ल्याम्बोर्गिनी कार चलाइरहेका बेला स्पेनको जामोरा प्रान्तस्थित ए–५२ राजमार्गमा राति करिब १२:४० बजे गाडी अनियन्त्रित भएर सडकबाट बाहिरिएको थियो।
दुर्घटनापछि गाडीमा आगलागी हुँदा जोटा र उनका भाइ दुवैको घटनास्थलमै निधन भएको थियो। पोर्चुगलको जितसँगै आएको यो भावुक श्रद्धाञ्जलीले विश्व फुटबल समुदायलाई फेरि एकपटक डियोगो जोटाको सम्झनामा भावुक बनाएको छ।













