फिफा प्रतिबन्धको असर: निलम्बनका कायम रहे नेपालले तीन प्रतियोगिता गुमाउने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बनको असर नेपाली फुटबलमा देखिन थालेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई पत्र पठाउँदै फिफा प्रतिबन्ध कायम रहे आगामी २०२६/२७ सिजनका विभिन्न एएफसी प्रतियोगिताबाट नेपाली टोली र क्लबलाई हटाइने जानकारी दिएको छ।
एएफसीले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमा फिफाको २४ जुन २०२६ को परिपत्रलाई आधार बनाउँदै एन्फा हाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि योग्य नरहेको उल्लेख गरेको छ।
फिफा काउन्सिलले २४ जुन २०२६ देखि लागू हुने गरी एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो। निलम्बनपछि फिफा विधानको धारा १३ अनुसार एन्फाले आफ्नो सदस्य अधिकार गुमाएको र एन्फाका प्रतिनिधि टोली तथा क्लब टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने एएफसीले जनाएको छ।

एएफसीले एन्फालाई जानकारी गराएअनुसार यदि तोकिएका समयसीमाभित्र निलम्बन फुकुवा भएन भने एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ बाट हटाइने छ। उक्त प्रतियोगिताको प्रारम्भिक चरणको ड्र २ जुलाईमा हुँदैछ। यो प्रतियोगिता खेल्न २९ जुनसम्म समस्या समाधान हुनुपर्नेछ।
त्यस्तै, एएफसी यू–१७ महिला एसियन कप चीन २०२७ छनोटका लागि १३ जुलाईसम्म र एएफसी यू–२० एसियन कप चीन २०२७ छनोटका लागि १ अगस्टसम्म निलम्बन फुकुवा नभए नेपाली टोलीले सहभागिता जनाउने पाउने छैन।
एन्फाले यसअघि नै २०२६/२७ सिजनका विभिन्न एएफसी प्रतियोगिताका लागि आफ्ना टोली र क्लबको नाम दर्ता गराइसकेको थियो। तर‚ फिफाको प्रतिबन्धका कारण ती सहभागिता अहिले अन्योलमा परेको छ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई निलम्बन गरेको हो। प्रतिबन्ध कायम रहेमा नेपाली राष्ट्रिय टोली, उमेर समूहका टोली र क्लबहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर गुमाउनेछन्।













