नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं। मोरक्कोसँग नाटकीय हार बेहोर्दै विश्वकपबाट बाहिरिएपछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान अब टोलीको जिम्मेवारीमा रहने छैनन्। टोलीको असफलताको पूर्ण जिम्मेवारी आफूले लिँदै ६३ वर्षीय डच प्रशिक्षकले पदबाट राजीनामा घोषणा गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत निर्णय सार्वजनिक गर्दै कोम्यानले नेदरल्यान्ड्स राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद छोड्ने बताएका हुन्। उनले विश्वकपमा अपेक्षा पूरा गर्न नसकेको निराशा आफूले पनि सबैभन्दा बढी महसुस गरेको उल्लेख गरे।
कोम्यानले भने,‘पूरै टोलीले विश्वकपमा इतिहास बनाउने सपना देखेको थियो। तर‚ त्यो लक्ष्य पूरा हुन सकेन। मुख्य प्रशिक्षकका रूपमा अन्तिम जिम्मेवारी मेरो नै हो।’ अन्तिम १६ को खेलमा मोरक्कोविरुद्ध नेदरल्यान्ड्स अधिकांश समय अग्रता लिइरहेको थियो।
तर‚ खेलको अन्तिम समयमा अफ्रिकी टोलीले बराबरी गोल फर्कायो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो। त्यहाँ मोरक्कोले ३–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो भने नेदरल्यान्ड्सको विश्वकप यात्रा समाप्त भयो।
यो नेदरल्यान्ड्सको प्रशिक्षकका रूपमा कोम्यानको दोस्रो कार्यकाल थियो। उनले यसअघि सन् २०१८ देखि २०२० सम्म पहिलो पटक टोली सम्हालेका थिए। त्यसपछि उनी स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक बने। सन् २०२३ मा उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए र टोलीलाई युरो २०२४ को सेमिफाइनलसम्म पुर्याएका थिए।
तर‚ विश्वकपमा अपेक्षित सफलता दिलाउन नसकेपछि अनुभवी प्रशिक्षकले जिम्मेवारी छोड्ने निर्णय गरेका छन्।













